२७ असार २०८३, शनिबार

श्रीलंकाका राजदूतले भने- ‘नेपाल र श्रीलंकाबीचमा धेरै समानता छ’

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । ‘औपचारिक शिक्षा नपाएका व्यक्तिले सीपमुलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीपमूलक तालिमको धेरै महत्व छ,’ नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले भन्नुभयो, ‘योग्यता परीक्षण प्रणालीबाट सीपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंकाले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’

अवलोकनका क्रममा उहाँले औपचारिक शैक्षिक योग्यता नभएका मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न महानगरपालिकाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

निःशुल्क तालिम प्रदान गर्नु अझ महत्वपूर्ण काम हो । नेपाल र श्रीलंकाबीचमा धेरै समानता छन् । समान प्रकृतिका यस्ता कार्यक्रम सँगै सञ्चालन गर्न सकिने राजदूत पथिरानाले भनाइ राख्नुभयो ।

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले जनअपेक्षा धेरै भएकाले ती अपेक्षाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताउनुभयो । ‘सीप मेलामा व्यवसायिक तालिम दिने कार्यक्रम पनि यसैको एउटा भाग हो ।’ उहाँको भनाइ थियो ।

तालिमका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले तालिमका विषय छनोटका बारेमा जानकारी गराउँदै मोबाइल बनाउने तालिमलाई उदाहरण दिनुभयो । ‘पहिले सिम कार्ड मात्र चल्ने मोवाइल बनाउनेले अहिलेका प्रविधियुक्त मोबाइल बनाउन थप तालिम लिनुपर्छ । हामीले यस्ता परिवर्तित अवस्थालाई हेरेर कोर्ष डिजाइन गरेका छौँ ।’ उहाँले भन्नुभयो ।

व्यवसायिक तालिमको योग्यता निर्धारण गर्ने क्रममा श्रीलंकाको सिकाइबाट सिक्न सकिने महानगरपालिकाका अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीले बताउनुभयो । मानवीय स्रोत व्यवस्थापन गर्ने दिशामा सहकार्य गर्न राजदूतले इच्छा राख्नुभएको उहाँले जानकारी दिनुभयो ।

सीप मेलाका तालिम संयोजक देवेन्द्र केसीका अनुसार श्रीलंकाले राष्ट्रिय सीप परीक्षण प्रणालीलाई राम्ररी कार्यान्वयन गरेको र महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको शिक्षामा सीप कार्यक्रम र सीपयुक्त जनशक्तिको योग्यता परीक्षण यही मोडेलमा अगाडि बढाउने योजना रहेको सुनाउनुभयो ।