
काठमाडौं, १६ जेठ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउन विभिन्न छुट योजना कार्यक्रम ल्याएको छ ।
बैंकले गत चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा विभिन्न छुट दिने योजना ल्याइएको हो । बैंकले ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको समयावधिमा साधारण ब्याज रकममा १५ प्रतिशत छुट दिने जनाएको छ ।
यसैगरी, भाखा नाघेको १८१ दिनदेखि ३६५ दिनसम्मको अवधिको २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिको ३५ प्रतिशत छुट दिने बैंकले जनाएको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।
यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सबलीकरणमासमेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।










प्रतिक्रिया