
काठमाडौं, १४ जेठ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकको महिलवार (लुम्बिनी) शाखाले २५६८औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब पच्चिस सय श्रद्घालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी तथा मिठाई वितरण गरिएको थियो ।

बैंकले विगत १३–१४ वर्षदेखि नै बुद्ध जयन्तीको दिन श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरुलाई पिउने पानीको समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यलाई निरन्तरता दिँदै आएको छ ।
त्यसैगरी, बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकाको “नगरप्रमुख शैक्षिक सुधार कोष”लाई एक लाख पचास हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बिचैमा पढाई छोड्न नपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोषमार्फत विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पर्याउने उद्देश्यले बैंकले सहयोग गरेको हो । बैंकको सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।
उल्लेखित कार्यक्रम सँगसँगै बैंकको नारायणगढ शाखाले देवघाटधाम, तनहूँमा अवस्थित गलेश्वर आश्रमलाई तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्घेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्राङ्गणमा नेपाली ढुङ्गा बिच्छाउने कार्य बाँकी रहेकाले कार्य सम्पन्न गर्नका लागि बैंकले सहयोग गरेको हो । बैैंकको बागमती प्रदेश ‘ख’ प्रमुख शम्भु प्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।








प्रतिक्रिया