१२ असार २०८३, शुक्रबार

गढीमाई नगरपालिकाकै मिलेमतोमा बागमती दोहन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १३ जेठ । गढीमाई नगरपालिकाको समनपुर घाट र हरैयाघाटबाट नदीजन्य पदार्थको चरम दोहन भएको भेटिएको छ । गढीमाई नगरपालिकाका मेयर र हाकिमकै सेटिङमा बागमती दोहन भएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

नगर प्रमुख र हाकिमको साथ पाएका ठेकेदारले ति दुबै घाटमा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन गरी चरम दोहन गरिरहेको स्थानियले जानकारी दिएका छन् । समनपुरको बागमती नदिको पुल उत्तरमा हरैयाघाटको ठेक्का पृथ्वी निमार्ण कम्पनीले लिएको छ भने सोही पुल दक्षिण उमा जयसवाल र दिनेश साहले ठेक्का लिनुभएको छ ।

ति दुबै घाटमा अहिले दिनरात स्काभेटर र टिपर चलिरहेको स्थानियले जानकारी दिए । स्थानियवासीले दिएको जानकारी अनुसार पुल उत्तर ४ वटा स्काभेटर चलेका छन् भने पुल दक्षिण पनि ४ वटा स्काभेटरले भकाभक नदी उत्खनन् गरिरहेका छन् ।

नगरपालिकाले पुल उत्तर १ करोड ५ लाखमा र पुल दक्षिणमा १ करोडमा ठेक्का लगाएको छ ।

दुबै क्षेत्रमा माछा पाल्ने किसिमको ठुल्ठुला पोखरी तथा नदी बगिरहेको ठाउँबाट नै बालुवा गिटी निकाल्ने काम भइरहेको पाइएको छ । नदीमा चरम दोहन भएपछि शुक्रबार स्थानीयले केही बेर अवरोध पनि गरेका थिए ।

नदीजन्य पदार्थको अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका पदाधिकारीहरु पनि कानमा तेल हालेर बसेका छन् । अनुगमन समितिको गैर जिम्मेवारपनको कारण रौतहटको विभिन्न खोलाहरुबाट नदीजन्य पदार्थको चरम दोहन भइरहेको छ ।

यसैबीच, गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवले चाँडै नै यस क्षेत्रको अनुगमन गर्ने बताउनुभएको छ ।

नदीजन्य पदार्थ निकासी गर्ने जेठ मसान्तसम्म मात्र रहेको नेपाल सरकारको प्रावधान छ । नदीजन्य वस्तुको अवैध उत्खनन्बाट नगरपालिकाका हाकिम र मेयरलाई धेरै लाभ हुने भएका कारण समय सीमा सकिनु अगाडि नै नियम विपरीत बागमती खोला धमाधम उत्खनन भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुखकै मिलोमतोमा मनोमानी रुपमा बागमती धुन हुँदा वर्षायाममा बागमती गाउँ पस्ने खतरा बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले पटकपटक घडीमाई नगरपालिकाको कार्यालय घेराउ गर्दै आएका छन् ।

नगरपालिकाका जनप्रतिनिधिले आफ्नो लाभका लागि मनोमानी रुपमा बागमती उत्खनन् गराउँदा आउँदो वर्षायाममा बागमतीको बाढी गाउँमा बस्ने खतरा बढेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । न्युज कारखाना