सोमबार, ४ असार २०८१
DainikNepal.com
सोमबार, ४ असार २०८१

टिओआर टुंगाउन शीर्ष नेताहरुसहितको बैठक बस्दै

दैनिक नेपाल २०८१ जेठ १३ गते ७:१६

काठमाडौं, १३ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरुसहितको बैठक आज बस्दैछ ।बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।

यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शीर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन ।

कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत कार्यदलका सदस्यहरु उपस्थित रहनुभएको थियो ।

बालुवाटारको छलफलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ । बैठकमा कांग्रेसले लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्ताव गरेपनि सत्ता पक्ष सहमत नभएको परियारले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।’

यसअघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगी भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो ।

आजै बिहान ११ बजे प्रतिनिधि सभाको र साढे ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित