९ श्रावण २०८३, शनिबार

वनभित्र अनावश्यक संरचना निर्माण नगर्न वनमत्री पोखरेलको निर्देशन

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १२ जेठ । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले वन भित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन दिनुभएको छ ।

हेटौंडा-२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार समुद्घाटन गर्दै उहाँले वनभित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गर्नुभएको हो ।

प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन तथा वातावरण क्षेत्रलाई जोगाउने गरी मात्रै वनभित्र संरचना बन्नुपर्नेमा मन्त्री पोखरेलको जोड थियो ।

संरचना बनाउने नाममा पुरातात्विक महत्वका संरचनालाई मास्ने भन्दापनि संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णय स्मरण गर्दै प्रदेशमा बन्ने संरचनामा अब स्वदेशी काठ अनिवार्य गरिएको उहाँले बताउनुभयो ।

उहाँले नेपालको जंगलमा काठहरु कुहिएर गइरहेको अवस्थामा विदेशबाट वार्षिक करिब १७ अर्बको काठ आयात भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

वनस्खण्डी मन्दिर पर्यटन विकास समिति हेटौंडा-२ को आयोजना एवम् बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आठ लाख ८९ हजार ४५१ रुपियाँ आर्थिक सहयोगमा व्यायमशाला निर्माण गरिएको हो ।

व्यायामशालाबाट सबैलाई लाभ लिन आग्रह गर्दै मन्त्री पोखरेलले अब जीवनशैली सुधार गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय अस्वस्थ खानपानका कारण मानिसहरुले धेरै रोगको सामना गर्नुपरेको बताउँदै प्राकृतिक खानपानमा अपनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रदेशको राजधानी हेटौंडा जोड्ने सडकहरु धमाधम निर्माण भइरहेको बताउँदै उहाँले अबको एक वर्षभित्र हेटौंडा–काठमाडौंको यात्रा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्माण व्यवस्थापन समिति अध्यक्ष देवकी केसीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला र स्थानीयवासीको सहभागिता रहेको थियो ।

Skip This