
काठमाडौं, १२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका एम्नेस्टी इन्टरनेसनलका महासचिव डा. अग्नेज कल्लामार्डले भेटवार्ता गर्नुभएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार भएको भेटमा मानवअधिकार, संक्रमणकालीन न्याय र प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल भएको पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानवअधिकार र सुशासनको सुनिश्चित गरिएको बताउनुभएको थियो । साथै उहाँले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्ने र गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने पार्टीको धारणा रहेकाबारे समेत स्पष्ट पार्नुभएको कार्यालय सचिव डा. अधिकारीले जानकारी दिनुभयो ।
भेटमा महासचिव डा. कल्लामार्डले नेपालमा संक्रमणकालीन न्याय टुंगो लगाउने विषय, प्रेस स्वतन्त्रता र सामाजिक तथा लैंगिक विभेद्जस्ता विषयमा जिज्ञासा राख्नुभएको थियो ।








प्रतिक्रिया