
काठमाडौं, ११ जेठ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटाउन बनेको कार्यदलको बैठक आज पनि बस्दैछ ।
दिउँसो बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकअघि नै कार्यदलमा सहमति जुटाएर सहजरुपमा संसद् खुलाउने प्रयास भइरहेको कार्यदलमा संलग्न नेताहरूले जनाएका छन् ।
कानूनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलको बैठक अहिले बिहान साढे ८ बजे सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदलका एक सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले जानकारी दिनुभयो ।
हिजो निष्कर्षविहीन भएको बैठक आज फेरि बस्दैछ । हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।
सत्ता पक्षले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न नमिल्ने भनेको छ भने विपक्षी दलले नाम उल्लेख नगरी छानबिन समिति बनाउनुको अर्थ नहुने भन्दै आएको छ ।
कांग्रेसले बजेट अधिवेशन सुरु भएयताका सबै बैठकमा संसद् अवरुद्ध पार्दै आएको छ । कार्यदलले सहमति नजुटाए आज पनि संसद् अवरुद्ध पार्ने कांग्रेसको तयारी छ ।
कार्यदलमा कानूनमन्त्री गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल सदस्य हुनुहुन्छ । यस्तै, कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा सहभागी भइरहनुभएको छ ।








प्रतिक्रिया