
काठमाडौं, १० जेठ । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमिटेडबीच यस कम्पनीले ललितपुर र मकवानपुर जिल्लास्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।
यो आयोजनाको कूल लागत रू ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिई असार २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एएनके कन्स्ट्रकसन रहेको छ ।
यो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदक/संस्थापकहरुको लगानी रहने छ । यो परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ ।
यो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।









प्रतिक्रिया