आइतबार, ३ असार २०८१
DainikNepal.com
आइतबार, ३ असार २०८१

क्यानभित्रको राजनीतिले कोपभाजनमा सन्दीप

दैनिक नेपाल २०८१ जेठ ९ गते २१:२१

काठमाडौं, ९ जेठ । नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एशियाकप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एकजना खेलाडी अहिले क्यानभित्रको आन्तरिक राजनीतिका कारण कोपभाजनमा पर्नुभएको छ ।

होला, सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान हुँदै गर्दा र भोलिपल्ट केन्या जाँदै गर्दा क्याम्प छाडेर जुन हर्कत गर्नुभयो त्यसको सजाय उहाँले पाइसक्नु भएको छ । जिल्ला अदालतमा मुद्दा चल्दा झण्डै एकसयदिन हिरासतमै बिताउनु भएको सन्दीपले उच्च अदालत र सर्वोच्च अदालतको आदेशबाट धरौटी बुझाएपछि विदेशसम्म गएर खेल्न पाउनु भएको थियो । यदी उहाँ त्यतिबेला नखेलेको भए सायदै नेपाल अहिले टी–२० विश्वकपमा हुने थियो होला ।

सन्दीपले जिल्ला अदालतबाट सजाय पाउनु भएकै हो । त्यसविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनका लागि जानु भएका सन्दीपले त्यहाँबाट सफाइ पाएपनि अहिले विश्वकप खेल्न जान रोक लगाइएको छ । सफाइ पाएलगत्तै समर्थकको क्यानप्रतिको सहानुभूति बटुल्न सन्दीपको निलम्बन फुकुवा गरेको नाटक मञ्चन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेपनि उहाँको कार्यसमितिका केही व्यक्तिहरु हावी हुँदा त्यसको शिकार सन्दीप नै हुनुभएको हो ।

भिसा नदिने निकायको आवरणमा काठमाडौंमा रहेको अमेरिकन राजदूतावास भएपनि भित्री खेल क्यानकै पदाधिकारी र केही सदस्यको रहेको पक्का छ । क्यानले नै खेलाडीदेखि सबैको भिसाकालागि पहल गरेको थियो । यदि सच्चा मनका साथ क्यानले पहल गरेको भए सन्दीपले भिसा नपाएको खबर सुन्नु नै पर्ने थिएन । यसअघि पटक पटक अमेरिका गइसक्नु भएका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी दिइएको थियो ।

सन्दीपको पहिला नै सन् २०२५ सम्मको अमेरिकी भिसा अवधि रहेको थियो । यदि क्यानको नेतृत्वको मनसाय गलत हुँदैन थियो भने उहाँले किन उच्च अदालतबाट सफाइ पाएपछि मात्रै भिसा रद्द भएको जानकारी पाउनुभयो त ? यहाँनेर समग्र खेलकुद प्रेमीले प्रश्न गर्ने ठाउँ छ ।
सन्दीप आरोपित भएर अदालतमा चक्कर काट्दै गर्दा पनि आइसीसी र एसीसीले उहाँलाई कुनैपनि प्रतिवन्धन लगाएको अवस्थामा वर्तमान कार्यसमितिले जिल्ला अदालतको फैसलालाई टेकेर उहाँलाई निलम्बन गरेको थियो । निलम्बन स्वभाविक मानिए पनि अमेरिकी दूतावासलाई सन्दीपको भिसा रद्द गराउनकालागि पत्र लेख्ने निर्णय क्यानको बोर्ड बैठकमा भएको थियो त यो पनि आम समर्थकले क्यानकै पदाधिकारीलाई सोध्नुपर्ने छ ।

उच्च अदालत पाटनबाट जेठ २ गते उहाँले सफाइ पाउनु भएको थियो । जेठ ४ गते उहाँलाई अमेरिकी राजदूतावासले विगतको भिसा रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँप्रक्रिया सुरु गर्नु भएको थियो । तर, अन्तरवार्ताकालागि गएपनि उहाँ असफल भएपछि अन्तर्राष्ट्रिय एरेनामा सन्दीपको ‘लेगस्पिन’ बाट विकेट लिएको देख्ने सम्भावना अत्यन्त न्यून रहेको छ । क्यानले सन्दीपको भिसा प्रक्रिया जति नै अगाडि बढाएका छौं भनेपनि टिम भित्रको आन्तरिक राजनीति पनि यतिबेला छरपष्ट भएको छ ।

नेपाली टिममा सन्दीपमात्रै खेलाडी छैनन् । अरु खेलाडीलाई अपमान गर्न खोजिएको पनि होइन । तर विश्वकपमा सन्दीपको अभाव नेपाली क्रिकेट टिमलाई खड्किने पक्का छ । आसन्न टी–२० विश्वकप अहिले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणलाई विर्साउने गरी मानव तस्कर हुन लागेको समाचार सञ्चार माध्यममा आइसकेका छन् भने केही पदाधिकारी र सदस्यहरुका श्रीमती, भाइ र छोराछोरीको भिसालागि सकेको अवस्थामा अदालतबाट सफाइ पाइसकेको विषय उठाएर सन्दीपलाई भिसा नदिनु भनेको नेपाली क्रिकेटमाथिको गम्भीर अन्याय हो ।

प्रतिक्रिया
सम्बन्धित