
काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाउनुभएको हो । बैठक बुधबार बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पार्दै आएको छ ।
आज बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको विषयले निम्तिएका राजनीतिक घटनाक्रमको समीक्षा गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
‘हामीले देशको गृहमन्त्रीमाथि नै ठगीको आरोप लाग्यो, त्यसको छानबिन गरौँ भनेका हौँ । तर आरोपित व्यक्ति उल्टै सौदाबाजी र पूर्वाग्रहमा उत्रिएको देखिएको छ ।’ सहमहामन्त्री परियारले भन्नुभयो, ‘उहाँले संसद्बाट कांग्रेस नेताहरुलाई लगाएका आरोप उहाँले पुष्टि नगरे उहाँ पनि कारबाहीको भागेदार हुनुपर्छ ।’
कांग्रेसले यो विषयलाई जनस्तरसम्म पुर्याउने र सडक प्रदर्शनका कार्यक्रम गर्ने चेतावनीसमेत दिएको छ ।










प्रतिक्रिया