
काठमाडौं, ८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ
पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हाल्नुभएको थियो । रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ ।
यसअघि यस रिटमाथि सुनुवाइ गर्दै वैशाख २७ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दीर्घकालिन निर्णय नगर्न आदेश दिएको थियो ।
पाण्डेले अधिकारीले पाएको विश्वासको मत बदर गरेर आफैलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरिपाउँ भनी परमादेश माग्नुभएको छ ।
मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेश सभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताउनुभएको थियो । उहाँले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताउनुभएको थियो ।
आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गर्नुभएको थियो ।








प्रतिक्रिया