सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै

दैनिक नेपाल २०८१ जेठ ७ गते ७:०१

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चौथो पटक विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिनुभएको थियो । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उहाँलाई समर्थन गरेका थिए ।

त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुभएको थियो । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरि गठबन्धन बदलेपछि विश्वासको मत लिनुभएको थियो । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित