३ असार २०८३, बुधबार

कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज सोमबार बिहान ९ बजे बस्दैछ ।

सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।

बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्दै हुनुहुन्छ ।

कांग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गर्नुभएको थियो ।

कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथिसमेत छलफल हुने जनाइएको छ । अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकले निर्णय लिने कांग्रेस नेताहरुले बताएका छन् ।

आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताउनुभएको छ ।

संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिबारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन ।

कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ ।

आइतबारको सम्बोधनमा गृहमन्त्री लामिछानेले आफू निर्दोष रहेकोमात्रै दाबी नगरेर धम्कीपूर्ण भाषामा कांग्रेस नेताहरुमाथि लाञ्छना लगाउनुभएका कारण संसद्मा कांग्रेस अब झन् कडारुपमा प्रस्तुत हुन सक्ने आंकलनसमेत भइरहेको छ ।