७ असार २०८३, आइतबार

गृहमन्त्रीले त अनुसन्धान गर्ने हो, दोषी भए कारबाही गर्ने हो, थर्काएर हुँदैन : गगन थापा

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आफ्नो दोष लुकाउन गृहमन्त्री रवि लामिछानेले सांसद, मिडिया र आम नेपाली नागरिकलाई बहकाउने काम गरेको आरोप लगाउनुभएको छ ।

सहकारी ठगी प्रकरणबारे आफूमाथि लागेका आरोपमा गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा जवाफ दिनुभएको थियो । जवाफ दिने क्रममा लामछिानेले आफू निर्दोष रहेको दाबी गर्दै प्रतिपक्षका नेताहरु विभिन्न काण्डमा मुछिएको आरोप लगाउदै व्यक्तिकेन्द्रित समिति गठनको कुनै तुक नभएको बताउनुभएको थियो ।

बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसदको लोत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले गृहमन्त्रीले आम जनतालाई भड्काउने काम गरेको आरोप लगाउनुभयो । फाइल खोलिदिउँ वा अनुसन्धान गरिदिउँ भन्दै थर्काउने काम गरिरहेको थापाको भनाइ छ ।

उहाँले भन्नुभयो- ‘तेरो फाइल खोलिदिउँ भन्दै थर्काइरहनुभएको छ गृहमन्त्रीज्यूले । गृहमन्त्रीले भन्ने हो कि गर्ने हो ? गृहमन्त्रीले त अनुसन्धान गर्ने हो । दोषी भए कारबाही गर्ने हो । त्यसरी थर्काएर हुँदैन । ल गृहमन्त्रीले जे जेमा समिति बनाउने हो बनाउनुस्, हामी तयार छौँ । आज संसदमा उठाउनुभएको जे जे विषयमा संसदीय समिति बनाउने हो, बनाउनुहोस् हामी तयार छौँ । एउटा एउटा विषयमा गृहमन्त्रीले समिति बनाउन अनुरोध गर्छौँ । १० वर्ष, १५ वर्षसम्मको छानबिन समिति बनाए हुन्छ ।’

जननिर्वाचित सांसदले बोल्न पाउने हक भएकै कारण लामिछानेलाई सदनमा बोल्न दिइएको समेत थापाले बताउनुभयो ।

उहाँले अघि भन्नुभयो- ‘बोल्न पाउने हक भएकै कारण गृहमन्त्रीलाई आज बोल्न दियौँ । तर मैले बोलेपछि पनि अरु बोल्नै नहुने र अघि पनि बोल्न नहुने जिद्दी रही नै रह्यो । सभामुखज्यूलाई उहाँको कुरा हामी धैर्यतापूर्वक सुन्छौँ त्यसपछि हाम्रो कुरा पनि राख्न दिनुस् भन्दा मान्नु भएन । त्यसपछि सदनमा जे कुरा राख्नुपर्ने थियो त्यही कुरा राख्न मैले पत्रकार सम्मेलन गरेको हुँ ।’

लोकतान्त्रिक पद्धतिअनुसार संसदीय प्रक्रिया अगाडि बढाउनुपर्नेमा एउटालाई बोल्न दिएपछि सदन बैठक नै स्थगित गर्नु उचित नभएको उहाँले बताउनुभयो ।

आइतबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई आफ्ना कुरा राख्न दिएपछि पूर्वनिर्धारित कार्यसूचीका सबै कार्यक्रम हटाइएको जानकारी गराएर बैठक सोमबारसम्मका लागि स्थगित गर्नुभएको थियो ।