२५ असार २०८३, बिहिबार

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ । नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा पुगेको छ । १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार ०.७९ को झिनो अंकले बढ्दै नेप्से २०१८.७६ मा पुग्दा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आज १३ उपसमूहमा सबै बढेका छन् । जीवन बीमा उपसमूह सर्वाधिक ४.३८ प्रतिशतले बढेको छ । निर्जीवन बीमा ३.८१, वाणिज्य बैंक २.६३, उत्पादन तथा प्रशोधन १.६८, विकास बैंक १.६२, लघुवित्त १.३६, होटल तथा पर्यटन १.३५, लगानी १.२९, जलविद्युत १.२५, म्युचुअल फण्ड १.१५, अन्य उपसमूह २.७६ प्रतिशतले बढेको छ ।

२०३ कम्पनीका सेयरमूल्य बढेर लगानीकर्ताले कमाउँदा ४० कम्पनीको घटेको छ । ४ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो । सर्वाधिक कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर छ । उक्त कम्पनीको १४ करोड ८० लाखको सेयर कारोबार भएको छ । यस्तै फस्र्ट माइक्रोफाइनान्सको ११ करोड ६८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड २३ लाख, पोखरा फाइनान्सको १० करोड ७१ लाख र सिटिजन लाइफ इन्स्योरेन्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

चार लघुवित्तहरु सबैको, आत्मनिर्भर, सामुदायिक र नेरुडे मिर्मिरेको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयरमूल्य घटेर गुमाउनेमा माण्डु हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त जलविद्युत कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर, बाराही हाइड्रो र गुराँस लघुवित्तको सेयरमूल्य पनि घटेको छ ।

बजार विश्लेषकहरुले आइतबारको बढोत्तरीलाई मौद्रिक नीति समीक्षाले बजारमा लगानीकर्ताको मनोबल बढाएको रुपमा लिएका छन् । मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई धितोपत्रहरु १ प्रतिशतमात्र बेच्न पाइने नियमलाई खुकुलो पार्दै एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बेच्न दिने नीति लिएको छ । बैंकहरुले सस्तो मूल्यका सेयरहरु खरिद गर्न सक्ने बाटो केन्द्रीय बैंकले सहज बनाइदिएको छ । चालु महिनादेखि ब्याजदर थप घट्दा सेयर बजार अझ बढ्ने अनुमान भइरहेको छ ।