
काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक भएको बताउनु भएको छ ।
बिहीबार मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेपालले जननेता मदन भण्डारीको सत्यतथ्य बाहिर ल्याउन समिति गठन गरेपनि अझै सत्यतत्य आउन नसकेको बताउनुभयो ।
तत्कालीन समयमा भण्डारीको निधनले पार्टी पंक्ती मै निराशाले सताएको स्मरण गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘घटनाको सन्दर्भमा सत्य तथ्य के हो अझै छानबिन गर्न बाँकी छ । तत्कालीन अवस्थामा पार्टीले तुरुन्त पहलकदमी लियो । त्यसपछि पद्मरत्न तुलाधरको नेतृत्वमा छानबिन कमिटी पनि बन्यो,’ उहाँले थप्नुभयो,‘त्यो छानबिन कमिटीको मात्रै रिर्पोटले पुगेन भनेर पार्टीले स्वयं केपी ओलीको नेतृत्वमा छानबिन कमिटी बनायो । त्यो कमिटीबाट कुनै खास कुराहरू आउन सकेन । त्यसैले यस सन्दर्भमा अझै गम्भीर खोजी गर्न आवश्यक छ ।’
अध्यक्ष नेपालले दुर्घटनाको अन्तिम साक्षी अमर लामाको समेत हत्या रहस्यम ढंगले भएको बताउँदै एमालेले त्यसको सत्यतथ्य छानबिन गर्न सहयोग गर्नुपर्ने बेला आएको बताउनुभयो ।
घुमाउरो पारामा उहाँले भन्नुभयो, ‘दुर्घटनाको अन्तिम साक्षी अमर लामालाई यो बीचमा मारियो । कीर्तिपुरमा गइरहेको बेला गोली हानेर मारियो । त्यो पनि रहस्यमय छ । कुनै पार्टीसँग जोडिएका मान्छेले उनलाई मारेको भन्ने कुरा आएको छ । सम्बन्धित पार्टीले पनि के भएको हो भन्ने बारेमा छानबिनमा सहयोग गर्नुपर्ने आवश्यकता छ ।’








प्रतिक्रिया