१६ असार २०८३, मंगलबार

मेलिन्डाद्वारा ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ छोड्ने घोषणा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा गेट्स अब ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’बाट अलग हुनुहुनेभएको छ ।

उहाँले परोपकारको क्षेत्रमा अर्को चरणमा जानका लागि यो उपयुक्त समय भएको बताउँदै गेट्स फाउन्डेसनबाट अलग हुने घोषणा गर्नुभएको हो । मेलिन्डा सन् २००० देखि यस फाउन्डेसनसँग आबद्ध हुनुहुन्छ । बिल गेट्ससँग अलग हुने सम्झौताअन्तर्गत उहाँले गेट्स फाउन्डेसनमा गरेको परोपकारी कार्यका लागि थप १२.५ बिलियन डलर भुक्तानी पाउने बताउनुभयो ।

मेलिन्डाले एक्स पोस्टमा लेख्नुभएको छ, ‘धेरै सोच विचारपछि मैले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको सह-अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेको छु । फाउन्डेसनसँग काम गर्ने मेरो अन्तिम दिन जुन ७ हुनेछ । गेट्स फाउन्डेसन बलियो स्थितिमा छ भन्ने विश्वासका साथ मैले यो कदम चालेको छु । सीईओ मार्क सुजम्यान, कार्यकारी नेतृत्व र अनुभवी बोर्ड अफ ट्रस्टीले सबै आवश्यक कामहरू जारी रहेको सुनिश्चित गर्नेछन् ।’

त्यस्तै, बिल गेट्सले भन्नुभयो, ‘म विश्वस्त छु कि तपाईंले भविष्यमा पनि आफ्नो परोपकारी कामबाट गहिरो छाप छोड्नुहुनेछ ।’

मेलिन्डा गेट्सको यो घोषणा पछि बिल गेट्सले छुट्टै पोस्टमा भन्नुभयो, ‘मेलिन्डाको बिदाईबाट आफू दुखी छु, तर म विश्वस्त छु कि उनले आफ्नो परोपकारी कामबाट भविष्यमा गहिरो छाप छोड्नेछन् । म फाउन्डेसनको काम र विश्वभरि लाखौं मानिसहरूको जीवन सुधार गर्न पूर्ण रूपमा प्रतिबद्ध छु ।’

सन् २०२१ को मेमा सम्बन्धविच्छेद भएपछि पनि बिल र मेलिन्डा फाउन्डेसनमा सँगै काम गरिरहनुभएको थियो । गेट्स फाउन्डेशनबाट मेलिन्डाको बाहिरिने खबर धेरै वर्षदेखि आइरहेको थियो । बिल गेट्स र मेलिन्डा गेट्सले विवाहको २७ वर्षपछि मे २०२१ मा सम्बन्धविच्छेदको घोषणा गरेका थिए ।

बिल गेट्स र मेलिन्डाको पहिलो भेट सन् १९८७ मा भएको थियो र दुवैले १९९४ मा विवाह गर्नुभएको थियो । बिल गेट्स विश्वका धनी व्यक्तिहरूमा गनिनुहुन्छ । उहाँ र मेलिन्डा सामाजिक सेवाका लागि पनि परिचित हुनुहुन्छ । दुवैका तीन सन्तान पनि छन् ।

मेलिन्डा गेट्सले सन् १९९६ मा माइक्रोसफ्टको जागिर छोड्नुभएको थियो । यसपछि उहाँले सन् १९९६ देखि २००३ सम्म ड्युक विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा काम गर्नुभएको थियो । त्यसपछि उहाँले आफ्ना पति बिल गेट्ससँग मिलेर गेट्स लाइब्रेरी फाउन्डेसन स्थापना गर्नुभयो जसको नाम सन् २००० मा ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ राखिएको थियो ।