
काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दलको माग अनुसार गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा छानबिन गर्न संसदीय समिति बन्न नसक्ने दाबी एमालेले गरेको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बोलाएको कानूनमन्त्री र प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले गरेको संसदीय छानबिन समिति गठनको माग कानूनसम्मत नभएकाले जस्तोसुकै रुपमा प्रस्तुत भएपनि समिति नबन्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘सरकारसँग समितिमाग गर्नुभयो, कुन विधान नियम बमोजिम बनाउने हो ? सरकारले संसदलाई यो बनाउ त्यो बनाउ भनेर निर्देशन दिन सक्दैन । प्रमुख प्रतिपक्षीले उठाएको कुरा कानूनसम्मत छैन । नेपाली कांग्रेसले समिति माग गरेको होइन । समितिको नाममा कांग्रेसले सरकार माग गरेको हो । त्यो कुरा सम्भव छैन । नेपाली कांग्रेसले जति गरेपनि आत्महत्या नै गर्छु भन्नेगरी प्रस्तुत भएता पनि यो माग सम्बोधन हुने अवस्था छैन ।’
सांसदहरु कुनै अनुसन्धान अधिकारी नभई कानून निर्माणका लागि निर्वाचित भएर आएको भन्दै उहाँले सांसदलाई अनुसन्धान अधिकारी बनाउँदै विभिन्न समितिमा राख्ने हो भने पाँचवर्ष त्यसैमा जाने बताउनुभयो । यद्यपि सभामुखसँगको बैठकमा पनि कांग्रेसले आफ्नो अडान छाडेको छैन ।








प्रतिक्रिया