
काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज नेपाल अति संवेदनशील र शक्ति केन्द्रको चासोको केन्द्रका रूपमा रहेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलालाई आइतबार टोखामा सम्बोधन गर्दै पोखरेलले नेपाललाई शक्ति केन्द्रले स्वार्थको चलखेल गर्ने केन्द्रको रूपमा प्रयोग गर्न खोजिरहेका बताउनुभएको हो ।
‘नेपालको विकास कसरी भयो भन्ने बुझ्न सक्यो भने हामी त्यसका विरुद्धको हाम्रा रणनीतिहरू, योजनाहरू कस्ता हुनुपर्दछ भन्ने सही निष्कर्षमा पुग्न सक्दछौँ’, उहाँले भन्नुभयो । नेपालमा समाजवादका विरुद्ध धेरै बौद्धिक व्यक्तित्वलाई प्रयोग गरिएको उहाँले बताउनुभयो । पश्चिमाहरूको रणनीतिक योजना अनुसार यो काम भइरहेको पोखरेलको भनाइ छ । यसको असर नेपाली समाजमा पर्ने भएकोले सचेत रहन उहाँले बौद्धिक वर्गलाई आग्रह गर्नुभयो । एसियाली ज्ञान र सिद्धान्तलाई कमजोर बनाएर युरोपेली ज्ञान, सिद्धान्तको आधारका विश्वविद्यालय शिक्षालाई अघि बढाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
पश्चिमा भन्दा एसियाली ज्ञान र सिद्धान्त निक्कै रचनात्मक भएको तर पश्चिमा दर्शनले यसलाई मार्ने काम गरिरहेकाले एसियाली र नेपालको मौलिकता हराउँदै गएको पोखरेलले बताउनुभयो । ‘नेपाली समाजको विकासको चरित्र आफ्नै प्रकारको विशिष्ट र मौलिक चरित्रको छ’, उहाँले भन्नुभयो ।
मातृ शक्तिको उपासनाको परम्परा नेपालको हरेक समुदायमा रहेको उहाँले बताउनुभयो । त्यो नेपालको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको पोखरेलले स्पष्ट पार्नुभयो । नेपालको आफ्नो मौलिक पक्षलाई सिर्जनात्मक बनाउने कुरामा बुद्धिजीवी वर्ग लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
औद्योगिक क्रान्तिले पुँजीवादको विकास भएसँगै त्यसको सबैभन्दा ठुलो प्रभाव एसियामा परेको उहाँले बताउनुभयो । पश्चिमा जगत् खास गरी अमेरिका एसियालाई आर्थिक रूपमा कमजोर बनाउन निरन्तर लागिरहेको उहाँको भनाइ छ । चीन र भारतले आर्थिक रूपमा गरिरहेको प्रगति रोक्न अमेरिका लागि रहेको त्यसैले यी दुई देशबीचको कमजोर राष्ट्र नेपाललाई अमेरिकाले प्रयोग गर्न चाहिरहेको उहाँको धारण छ ।
‘नेपालमा बलियो सरका निर्माण भयो भने उनीहरूका स्वार्थ पूरा हुन सक्दैन, त्यस अर्थमा उनीहरू नेपालका राजनीति अस्थिरता सिर्जना गरिराख्न अनेक तरिका अपनाउने गर्दछन्, जसका लागि सबैभन्दा बढी बौद्धिक वर्गलाई प्रयोग गरिरहेका छन्’, पोखरेलले भन्नुभयो ।
दक्षिण एसियामा अस्थिरता कायम राख्न नेपालमा राजनीतिक अस्थिरता कायम गर्ने काम भइरहेको उहाँले बताउनुभयो । नेपालको अस्थिरतासँग दक्षिण एसियाको भविष्य समेत जोडिएको प्रति महासचिवले ध्यानाकर्षण गराउनुभयो ।
नेपालको राजनीति भित्र राजनीतिक अस्थिरता र सामाजिक अराजकताको स्थिति देखिएको उहाँले बताउनुभयो । समाजलाई बलियो बनाउन अब विरोध र विद्रोह होइन निर्माणमा लाग्नु पर्छ भन्ने धारणा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
धर्मान्तर र धार्मिक अतिवादीले पनि नेपालको मौलिक संस्कृति माथि अतिक्रमण गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । नेपाली मौलिक संस्कृतिलाई जोगाइ राख्ने कुरा नेपाली समाजको चुनौतीको विषय बनेको उहाँले स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया