१९ असार २०८३, शुक्रबार

‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा सुधार आउँछ : मन्त्री श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० बैशाख । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरूले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्व विद्यालयमा सुधार नहुने बताउनु भएको छ । उहाँले शीर्ष दलहरुले विश्वविद्यालयमा ‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता जनाएरै त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

आइतबार संसदको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री श्रेष्ठले त्रिविको शैक्षिक क्यालेन्डर लागु गर्न दलका भ्रातृ संगठनहरूको अवरोध रहेको र त्यसमा आफूहरुले चाहेर मात्रै सुधार गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको क्यालेण्डर लागू गराई सुधार गराउन आफूहरुले अनौपचारिक पहल गरिरहेको जानकारी गराउनुभयो । तर, अनौपचारिक रुपमा संवादलाई अघि बढाए पनि त्यो सफल हुने नदेखिएकाले औपचारिक रुपमै पत्रमार्फत त्रिवि सुधारका लगि दलका शीर्ष नेतासँग छलफल प्रयास गर्ने बताउनुभयो ।

दलगत रुपमा आबद्ध कर्मचारी संगठन र प्रसाशनले निचोड निकाल्नुपर्ने भन्दै उहाँले थप्नुभयो, ‘टियू रिफर्मको लागि जबसम्म शीर्ष नेताहरुले कमिटमेन्ट दिँदैनन् यो अगाडि बढ्दैन । हामीले प्रशासन र संगठनको सुधारको प्रयास गरिरहेका छौं । समयनै दिएनन भने अब शीर्ष दललाई पनि पत्राचार गरेरएकै ठाउँमा ल्याएर नो मोर भन्ने कमिटमेन्ट उहाँहरुबाट ल्याउन सक्छौं होला ।’

विश्वविद्यालय सुधारका लागि पहिला राजनीतिक दलका भातृ संगठनको सुधार गर्नुपर्ने भन्दै उहाँले उपकुलपतिले टियूमा हुने राजनीतिकरण सुधारकालागि शीर्ष दलका नेतृत्वसँग छलफल गर्न कोशिस गरिरहेको उल्लेख गर्नुभयो । भ्रातृ संगठनका विद्यार्थी र शिक्षक, कर्मचारी संगठनको डरका कारण उपकुलपतिलाई पीएसओ राख्नुपर्ने अवस्था आएको मन्त्री श्रेष्ठको भनाइ छ ।

‘पोजिसन होल्डर्सहरुको नियुक्ति हुँदादेखि नै टियूको भिसी सरलाई धम्कीले गर्दा पीएसओको बन्दोबस्त गर्नुपर्ने अवस्था छ । त्यसैले सबैले टियूलाई दलीय राजनीतिमुक्त बनाउँछौ भनेर प्रतिबद्धता गरे धेरै कुरा सम्भव छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।