सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

कोशी प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस

दैनिक नेपाल २०८१ वैशाख २८ गते १०:४१

विराटनगर, २८ वैशाख । कोशी प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस गरिएको छ ।

एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएपछि बिहीबार साँझ बसेको पहिलो मन्त्रिपरिषदको बैठकले तीन निर्णय गरेको छ ।  मन्त्रिपरिषद्ले प्रदेश सभाको पाँचौँ तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गरेको छ ।

त्यस्तै, बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ भने संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ ।

७ सदस्यीय कार्यदलमा प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यलाई संयोजक तोकिएको छ । कार्यदलको सदस्यमा पूर्वमुख्यन्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेश सभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ रहनुभएको छ । सदस्यसचिवमा कोशी प्रदेशको आन्तरिम मामिला तथा कानुन मन्त्रालयका सचिव रहनुभएको छ ।

मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की तेस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित