सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि

दैनिक नेपाल २०८१ वैशाख २८ गते १०:०८

काठमाडौं, २८ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिनुभएको पुष्टि भएको छ ।

पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उहाँले ऋण लिएको पुष्टि भएको हो । यसअघि सीआईबीको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिलले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ ।

जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण छानबिन समितिले फेला पारेको छ ।

वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको बताइएको छ । रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको र पैसा कहाँ गयो, कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर पनि प्रतिवेदनमा लेखिएको छ ।

पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन् । प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु राईको नाम २१ नम्बरमा छ । लामिछानेले चेक तथा नगदबाट एक करोड लिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित