सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

जसपा फुटले मधेश सरकार संकटमा

दैनिक नेपाल २०८१ वैशाख २८ गते ९:२२

जनकपुर, २८ वैशाख । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ । मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ । अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन् ।

पार्टी विभाजनले केन्द्रमा कमजोर बनेका उपेन्द्रलाई मधेशमा आफ्नो दल नेतृत्वको सरकार जोगाउन हम्मे परेको छ । एमाले र माओवादी केन्द्रले भने मधेशमा नयाँ सरकार बनाउन कसरत सुरु गरिसकेका छन् ।

एमाले र माओवादी केन्द्रका नेताहरूबीच बिहीबार प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा समेत छलफल भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव पनि आफ्नो सरकार बचाउन लबिङ गरिरहनुभएको छ । त्यसो त अहिले जसपा विभाजनको असर मधेशमा कस्तो पर्छ भन्ने प्रष्ट भइसकेको छैन् । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

यादव नेतृत्वको सरकारलाई अहिले जसपासहित एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । यादवलाई एमालेका २४, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १ र जसपा नेपालका १९ गरी ६१ सांसदले विश्वासको मत दिएका थिए । जसअनुसार हाल विपक्षमा कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, राप्रपाका १ र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । यसआधारमा यहाँ ४६ सांसद छन् ।

जसपा नेपालमा भएको विभाजनपछि मधेशमा कुन दलमा कति सांसद रहन्छन् भन्ने निश्चित छैन् । जसपा विभाजनले आउने परिणामले नै मधेशमा कसको सरकार बन्ने भन्ने निर्धारण देखिन्छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि छलफल सुरु भएको बताउनुभयो । ‘अहिले प्रारम्भिक छलफल भएको छ । हामी नेतृत्व कसले लिने भन्नेबारेमा छलफल गरिरहेका छौँ ।’ बिहीबारको छलफलपछि उहाँले भन्नुभयो, ‘केन्द्रका नेताहरुको समेत राय बुझेर अघि बढ्छौँ ।’

प्रदेशमा एमाले र माओवादीले सरकार छोड्ने तयारी गरेपनि केन्द्रमा भने जसपा नेपालका अध्यक्ष यादवले सरकार छोड्ने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्नुभएको छैन् । उहाँले बुधबार पत्रकार सम्मेलन नै गरेर वर्तमान सरकारले पार्टीले दिएको समर्थन कायम रहने बताउनुभएको थियो । तर बिहीबारको मन्त्रिपरिषद् बैठकमा भने यादव सहभागी हुनुभएन ।

मधेशमा भने एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई छोडेर जनमतसँग संवाद गर्ने तयारी गरेको बुझिएको छ । यस्तोमा केन्द्रमासमेत जनमत सरकारमा सामेल हुन सक्ने नेताहरूले बताएका छन् ।

नवगठित जसपाका महासचिव मोहम्मद इस्तियाक राईले भने मधेशमा पनि आफूहरुकै बहुमत हुने दाबी गर्नुभयो । ‘मधेशमा फेरि पनि केन्द्रीय गठबन्धनकै सरकार हुन्छ । हामीले मधेशमा पनि बहुमत जुटाउँछौँ, अहिलेको सरकार अब रहँदैन् ।’ उहाँले भन्नुभयो ।

०७९ पुस २७ मा मधेशको मुख्यमन्त्री बन्नुभएका यादव त्यसयता निरन्तर मुख्यमन्त्री हुनुहुन्छ । उहाँले पछिल्लो पटक गठबन्धन फेरबदल भएपछि चौँथोपटक विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित