सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

दुर्गा प्रसाईं निकट युवाद्वारा दुईवटा बैंकमा तोडफोड

दैनिक नेपाल २०८१ वैशाख २७ गते १५:१८

झापा, २७ बैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् । ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुईवटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न  चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा बुद्ध शान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो । पक्राउ पर्ने अन्य दुईजनाको नाम सार्वजनिक भएको छैन ।

प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोेध प्रदर्शन भएको थियो ।

गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरीले आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता बिरोधमा उत्रिएका हुन् । लगभग १ सय ५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले ज्योति विकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढ्ङगा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योति बिकास बैंकमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित