सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

इरानी निर्देशक मोहम्मदलाई ८ वर्षको जेल सजाय

दैनिक नेपाल २०८१ वैशाख २७ गते ८:५०

काठमाडौं, २७ वैशाख । असन्तुष्ट इरानी निर्देशक मोहम्मद रसूलोफलाई इरानी अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ । जेल सजायसँगै उहाँलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा मार्न पनि आदेश दिएको छ ।

रसूलोफका वकिल बाबाक पकनियाले बुधबार एक्स(ट्वीटर)मा एक पोस्ट लेख्दै अदालतको आदेशबारे जानकारी दिनुभएको छ । पकनियाका अनुसार अदालतको फैसला इस्लामिक रिवोल्यूशन कोर्टको २९ औं शाखाद्वारा जारी गरिएको थियो र आइना कोर्ट अफ अपिल्सको ३६ शाखाले यसको पुष्टि गरेको थियो ।

पकनियाले अदालतले रसूलोफको सार्वजनिक अभिव्यक्ति, उहाँका फिल्म र वृत्तचित्रले देशको सुरक्षाविरुद्ध अपराध गर्ने उद्देश्य अनुरुप रहेको कारण जनाउँदै अदालतले आदेश दिएको बताउनुभयो ।

रसूलोफलाई सजाय ‘कान फिल्म फेस्टिभल’ अगाडि नै सुनाइएको हो । यो फेस्टिभलमा उहाँको नयाँ फिचर फिल्म ‘सीड अफ द सेक्रेड फिग ट्री’को विश्व प्रिमियरका लागि तयारी गरिएको थियो ।

फेस्टिभल आयोजक इरानी अधिकारीले निर्देशकलाई फेस्टिभलका लागि फ्रान्सको यात्रा गर्ने अनुमति दिने आश्वस्त भइरहँदा अदालतले यो सजाय सुनाएको हो ।

रसूलोफ इरानी फिल्म उद्योगमा तेहरानका कट्टर शासनको सबैभन्दा कडा आलोचकमध्ये एक हुनुहुन्छ । उहाँलाई सन् २०२२ जुलाईमा लोकप्रिय विरोध प्रदर्शनको सम्बन्धमा सुरक्षाबलसँग संयम अपनाउने माग गर्ने एक निवेदनमा हस्ताक्षर गरिएको आरोपमा पक्राउ गरिएको थियो ।

२०२३ को फेब्रुअरीमा उहाँलाई स्वास्थ्य अवस्थाका कारण अस्थायी रुपले रिहा गरिएको थियो । सोही समयदेखि उहाँ घरमै नजरबन्द हुनुहुन्थो । गत वर्ष ‘कान्स’मा उहाँलाई आफ्नो अन सर्टेन रिगार्ड जुरीमा काम गर्नका लागि निमन्त्रणा गरिएको थियो । तर, उहाँलाई इरान सरकारले त्यहाँ जान अनुमति दिएन ।

प्रतिक्रिया
सम्बन्धित