आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मैलै पार्टी फुटाउँदै छ भन्ने सुनियोजित हल्ला फैलाइयो : झलनाथ खनाल

दैनिक नेपाल २०८१ वैशाख २६ गते १२:३६

काठमाडौं, २६ बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले प्रचार गरिएको बताउनु भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पनि विभाजन हुन लागेको चर्चा हुन थालेपछि खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गर्नुभएको हो । एकीकृत समाजवादीबाट ६ जना सांसद लिएर खनालले संसदीय दल फुटाउँदै भन्ने हल्ला तीब्र रुपले भ्रमको कुहिरो फैलाइएको उहाँले स्पष्ट पार्नुभयो ।

‘यतिबेला मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रुपले अघि बढ्दै छ। यहि २१ फागुन २०८० बाट मुलुकमा नयाँ राजनीतिक समिकरणले आकार लिएको छ। हाम्रो पार्टी पनि यहि समिकरणमा संलग्न भएको कुरा सर्वविदित नै छ। ’उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘केहि दिनअघि मात्र तत्कालीन “जनता समाजवादी पार्टी नेपाल” समेत विभाजित भएको छ। यहि शिलशिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाईएको छ। केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।’

देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्न थालेपछि पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएको उहाँको भनाई छ ।

‘हाम्रो पार्टी एउटा नवोदित क्रान्तिकारी पार्टी हो। यति बेला हाम्रो पार्टी आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी कम्युनिष्ट आन्दोलनको र पार्टी पुनर्गठन पछिका अनुभवहरुका सार संकलन गर्दैछ, हाम्रो देशको प्रधान वर्गीय र राजनीतिक प्रधान अन्तर्विरोधहरू पहिचान गर्दैछ, क्रान्ति र अग्रगतिको प्रमुख बाधा के हो त्यसको पहिचान गर्दैछ, देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरुलाई परिस्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ। त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएका छन्। त्यसैले उनीहरु प्रतिक्रियावादीहरुका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरु लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोशिस गर्दैछन्।’

 

प्रतिक्रिया
सम्बन्धित