आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एमाले गण्डकीद्वारा आयोजित जनप्रतिनिधिको प्रशिक्षण समापन

दैनिक नेपाल २०८१ वैशाख २४ गते १५:४१

पोखरा, २३ बैशाख । नेकपा (एमाले) ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण आज पोखरामा सम्पन्न भएको छ ।

प्रशिक्षण समापनका अवसरमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास बिभाग प्रमुख देबेन्द्र दाहालले प्रशिक्षण पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयनमा फलदायी भएको र समृद्व नेपाल, सुखी नेपालीको को आधार निर्माणमा सहयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो ।

प्रशिक्षण नियमित वार्षिक रूपमा आयोजना हुने भन्दै स्थानीय तहमा रहेका आफ्ना जनप्रतिनिधिलाई कार्य सम्पादनमा दक्षता बढाउँदै एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गराउने उद्देश्य रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा पोलिटब्युरो सदस्य मना केसीले प्रशिक्षणले कार्य दक्षता बढाउन सहयोगी हुने उल्लेख गर्नुहुँदै पार्टी र स्थानीय जनप्रतिनिधिहरूबीच समन्वय र सहकार्यमा फलदायी हुने उल्लेख गर्नुभयो ।

एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्माको अध्यक्षतामा सम्पन्न समापन समारोहको संचालन प्रदेश कमिटी सचिव धनन्जय दवाडीले गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको प्रशिक्षणमा उपमहासचिव प्रदिप ज्ञवालीसहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल, सोहि विभागका सचिव हर्कराज राइ, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल, प्राध्यापक डाक्टर तत्व तिम्सिना सहितका नेताहरूले सहजीकरण गर्नुभएको एमाले गण्डकी प्रदेश कमिटीका सचिव दवाडीले जानकारी दिनुभयो ।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख ,उपप्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू गरि करिब एक सयजनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेश स्थानीय तह विभाग प्रमुख एवम् प्रदेश कमिटी सदस्य लिलाधर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित