आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

इलाम-२ : सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने

दैनिक नेपाल २०८१ वैशाख १६ गते ६:५५

इलाम, १६ वैशाख । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।  मतपेटिका संकलनमा ढिलाइ भएपछि मतगणना कार्य आज हुने भएको हो ।

यसअघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन सकिने भनेपनि राति ढिलो गरी मतपेटिका मतगणनास्थलमा पुर्‍याइएको छ ।

इलाम-२ को मतगणना  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा गरिँदैछ । मुख्य निर्वाचन कार्यालयका अनुसार सर्वदलीय बैठक बसेपछि मतगणना करिब ७ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, बझाङको उपनिर्वाचनका मतपेटिका भने बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मतगणना सुरु हुने आयोगले जनाएको छ ।

शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको थियो ।

यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित