आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

मनमोहनका पालादेखि गाँउमा विकासको लहर आएको हो : अध्यक्ष ओली

दैनिक नेपाल २०८१ वैशाख १३ गते ८:१७

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसका अवसरमा उहाँ नेतृत्व सरकारले गरेको राम्रा कामको स्मरण गर्नुभएको छ ।

अध्यक्ष ओलीले अधिकारीको २५औं स्मृति दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै मनमोहनको सरकारमा आफू गृहमन्त्री रहेको र त्यसबेला देशको शान्ति सुरक्षा मजबुद रहेको स्मरण गर्नुभएको हो ।

‘श्रद्धाञ्जली श्रद्धेय मनमोहन !! मनमोहन अधिकारी प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री भएको बेला म गृहमन्त्री थिएँ । त्यो सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको थियो, ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रममार्फत गाउँमा विकासको लागि समान रूपमा रकम पठाउन सुरु गरेको थियो । अध्यक्ष ओलीले भन्नुभएको छ, ‘त्यसै बेलादेखि त्यही रकम र जनश्रम परिचालन गरेर गाउँगाउँमा सडक, विद्यालय, पुल, स्वास्थ्यचौकी बन्न थालेका थिए । त्यस कार्यकालमा राज्यको तर्फबाट कसैले पनि ज्यान गुमाउनु परेन । हाम्रा उनै नेता तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको आज २५औं स्मृति दिवस । उहाँप्रति श्रद्धा र सम्मान !!’

नेकपा एमालेका तत्कालीन अध्यक्ष अधिकारीको नेतृत्वमा एमालेले वि.सं २०५१ मा ९ महिना सरकार चलाएको थियो । अधिकारी नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफै बनाउँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारीलगायतका लोकप्रिय कार्यक्रमको सुरुवात गरेको थियो ।

अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो । उहाँ नेतृत्वको ९ महिने सरकारले गरेको लोकप्रिय कामको चर्चा अहिले पनि हुने गरेको छ ।

लोकप्रिय नेता अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

अधिकारीको आज २५औं स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित