शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

दैनिक नेपाल २०८१ वैशाख १३ गते ७:५१

सुर्खेत, १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

२७ चैतमा मुख्यमन्त्री नियुक्त हुनुभएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाएर विश्वासको मत लिन लाग्नुभएको हो । भागबण्डा मिलेपछि बुधबारमात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभयो । माओवादी केन्द्रले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भइसकेको छ । तर यसअघि भने प्रदेश सामाजिक मन्त्रालय कसले लिने भन्ने विषयमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

नेताहरूका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ । एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन् । विनाविभागीय मन्त्रीको जिम्मेवारी पाउनुभएका माओवादी केन्द्रका परियारले बुधबार नै शपथ ग्रहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित