सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

सुवास नेम्वाङले देखाउनु भएको बाटोबाट कतै विचलित हुन्न : सुहाङ नेम्वाङ

दैनिक नेपाल २०८१ वैशाख १२ गते १६:१३

काठमाडौं, १२ वैशाख । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो स्वर्गीय बुबा सुवास नेम्वाङले देखाउनुभएको बाटोलाई समाएर इलामेली जनतासँग अघि बढ्ने बताउनुभएको छ ।

बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुहाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताउनुभयो । ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उहाँले भन्नुभयो ।

इलाममा आफू नेकपा (माओवादी केन्द्र), नेकपा माओवादी र परिवार दलको साझा उम्मेदवार बन्दा यो चुनावी एकता मात्र नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको सुहाङले बताउनुभयो । युवा र अनुभवी नेताको योगबाट मात्र समृद्ध नेपाल बनाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

नेपाली समाज इन्द्रेणी जस्तै रंगिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उत्सृङ्खल भएर प्रस्तुत नहुन आग्रह गर्नुभयो । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उहाँले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन र त्यस्ता भ्रममा नपर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । अब एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनताको बीचमा जानुपर्नेमा सुहाङले जोड दिनुभयो ।

इलामले विकासमा फड्को मारेको बताउँदै सुहाङले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ती बाँकी काम पूरा गर्न सबै एक भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित