सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

कांग्रेसभित्रको विवाद नमिलेपछि उम्मेदवार डम्बर खड्का तनावमा

दैनिक नेपाल २०८१ वैशाख १२ गते १३:३५

इलाम, १२ वैशाख । इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचन नेपाली कांग्रेसलाई पुनः फलामको चिउरासरह हुने देखिएको छ ।

केन्द्र तहदेखिका नेता लाग्दासमेत जिल्लाको पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन नसकेपछि उम्मेदवार डम्बर खड्का ज्यादै चिन्तित चिन्तित हुनुभएको छ । पार्टीभित्रको विवाद मिलाउन गगन थापा, विश्वप्रकाश शर्मा, शेखर कोइराला, भीष्मराज आङ्देम्बे, धनराज गुरुङले धेरै प्रयास गर्दा पनि दुवै पक्ष आन्तरिक रूपमा टसमस हुन नसकेपछि विवाद नमिलेको कांग्रेस जिल्ला तहका एक नेताले जानकारी दिए ।

‘अब पनि कांग्रेसले–२ नम्बर क्षेत्रमा झन्डा फहराउने संकेत देखिएन,’ ती नेताले भने, स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवार हार्दा झलनाथ खनालले गाली गरेपछि चिढिएको कांग्रेसले पछि खनाललाई नै क्षेत्र नम्बर १ मा हराएर स्वाद चखायो, अबको उपनिर्वाचनमा डम्बर खड्को स्थिति त्यही हुनेछ ।’

२०७९ साल मंसिर ४ मा भएको निर्वाचनमा हार बेहोरेपछि आफैले आफ्नै पार्टीका अरू नेतालाई गरेको गालीले खड्कालाई अहिले भत्भती पोल्न थालेको छ । केन्द्रीय तहका नेताले इतर नेतालाई आफ्नो चुनावी सभासम्म जाने वातावरण बनाइदिए पनि भावनात्मक हिसाबले भित्रैबाट भोट मागिदिने, नेता–कार्यकर्ता परिचालन गर्ने अवस्था नबेपछि खड्का तनावमा हुनुहुन्छ । चुनावी सभाहरुमा पनि उहाँको अनुहार सधै मलिन देखिन थालेको छ । आफूले आरोप लगाएकै नेता यो उपनिर्वाचनमा पनि उम्मेदवारको आकांक्षी थिए । तर पार्टी सभापति शेरबहादुर देउवाको बलमा सबैलाई पाखा लगाउँदै डम्बर खड्काले नै पुनः टिकट हात पारेपछि कांग्रेसको क्षेत्र नम्बरको २ को ठूलो टिम अहिले पनि असन्तुष्ट छ ।

इलाम बजारकै एक कांग्रेस नेता यस पटक पनि खड्को जितप्रति आशावादी नभएको तर्क गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘डम्बरमा राजनीतिक व्यवहार देखिएन, हार्ने बित्तिकै आफ्नै पार्टीका नेतालाई धम्क्याउने, पैसा खाएर हराएको आरोप लगाउनेलाई फेरि किन हामीले भोट हालिदिनुपर्ने ?’ अहिले यसो भन्ने मतदाता कांग्रेसभित्र धेरै छन् । खड्कालाई टिकट नदिन कांग्रेसको केन्द्रीय समितिमा महामन्त्री गगन थापालगायत शेखर कोइराला टिमले ठूलो प्रयन्त गरेको थियो । तर देउवाले जबर्जस्ती निर्णय गराएपछि बाध्य भएर गगन थापासमेत डम्बरको चुनावी सभामा आइदिएपनि खुलेर भोटमाग्न सक्नुभएन ।

कांग्रेसको शेखर पक्षका एक इलामे नेता भन्नुहुन्छ, ‘गगनजी बाध्य भएर पार्टीका लागि भोट माग्दै हुनुहुन्थ्यो, यो बाध्यता उहाँले इलाम आएरै पनि व्यक्त गर्नुभएकै हो । भित्रैदेखि रुखमा भोट माग्न र भोट हाल्न कांग्रेसमा अहिले धेरैलाई सकस छ ।’

०७९ सालको निर्वाचनमा पराजित भएपछि खड्काले दिएको अभिव्यक्ति र आफ्नै दलका इतर समूहप्रति आगो ओकल्नुभयो । चुनावको समीक्षा गर्न आयोजित बैठकमा आफ्नै दलका अर्को पक्षका नेता–कार्यकर्ताले धोका दिएको भन्दै खड्का धर्धरी रुनुभयो । उहाँले आफूले पठाएको चुनाव खर्च आफ्नै पार्टीका नेता–कार्यकर्ताकले खाइदिएर मतदातासम्म नदिएको पनि आरोप लगाउन भ्याउनुभयो । ‘मलाई काखमा राखेर छुरा रोपिएको’ भन्दै उहाँ रुनुभयो । त्यो निर्वाचनमा आफू हार्ने अवस्था आएपछि खड्काले मतगणनास्थलमै खड्काले दलको अर्को खेमाका नेता–कार्यकर्तालाई सबैले सुन्नेगरी कतिपयको नामै किटेर गाली गरेको अहिले पनि कांग्रेसीहरुले मनमा राखेका छन् । उहाँको त्यो अभिव्यक्तिले इलामका कांग्रेस चिडिएका छन् ।

‘पार्टी सभापतिजस्तो मान्छे, हारजित जे भएपनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएको मान्छेले पराजित हुँदैमा आफ्नै पार्टीका नेता–कार्यकर्तालाई तल्लो स्तरको गाली गर्न हुनेथिएन,’ एक नेताले भन्नुभयो, ‘त्यसको सोझो असर यो उपनिर्वाचनमा पर्छ । खड्का आफैंले आफ्नै नेता–कार्यकर्तामाथि रोपेको बचनको छुराको घाउ आलै छ, मेटिएको छैन ।’

यही किचलोका कारण यसपटक पनि खड्कालाई उपनिर्वाचनको टिकट ल्याउन निकै हम्मे भयो । उम्मेदवार छान्ने सबैभन्दा तल्लो तह निर्वाचन क्षेत्रीय समितिको चुलाचुलीमा बसेको चैत ६ को बैठकमा कांग्रेसका दुई खेमाबीच चर्को विवाद र ठेलमठेल भयो । सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रको बैठकबाट आकांक्षी सात जनाको नाम कांग्रेसले जिल्लामा पठाएको थियो।

जिल्लाले केन्द्रमा नाम पठाएपछि यतिसम्म भयो कि, इलाममा हुने उपनिर्वाचनको उम्मेदवार छान्न कांग्रेसको संसदीय बोर्ड बैठकमा केन्द्रका दुई खेमबाबीच बैठक बहिष्कारसम्मको अवस्था आयो । सभापति शेरबहादुर देउवाले खड्काको र महामन्त्री गगन थापाले भेषराज आचार्यको नाममा अडान लिएपछि बोर्ड बैठक पटक–पटक बिनानिष्कर्ष टुंगियो । अन्ततः देउवाकै अडानमा खड्का उम्मेदवार बन्नुभयो । यो तथ्यलाई पनि इलामेली कांग्रेसीहरुले भुलेका छैनन् ।

उपनिर्वाचन हुनलागेको इलाम क्षेत्र २ मा देउवा पक्षको प्रभाव शेखर कोइराला पक्षको भन्दा कमजोर छ । यो निर्वाचन क्षेत्रका पाँच पालिकामध्ये इलाम नगरपालिकाका मेयर केदार थापा र चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङसमेत कांग्रेसकै हुनुहुन्छ । तर, उहाँहरू दुवै देउवा इतर हुनुहुन्छ । यो क्षेत्रका कांग्रेस क्षेत्रीय सभापति डिकेन्द्र इदिङगो पनि देउवा इतर नै हुनुहुन्छ भने इलामबाटै कोशी प्रदेशको मन्त्रीसमेत रहनु भएका कांग्रेसका प्रभावशाली युवा नेता समशेर राईसमेत देउवा खेमाको हुनुहुन्न । स्रोतका अनुसार उहाँहरू सबै यसपटक कांग्रेसको टिकट खड्कालाई दिनुहुन्न भन्ने पक्षमा हुनुहुन्थ्यो ।

खड्का उम्मेदवार बनेपछि कांग्रेसभित्रको शेखर पक्षका धेरै नेता–कार्यकर्ता अहिले पनि असन्तुष्टि व्यक्त गरिरहेका छन् । जिल्ला तहका कतिपय कांग्रेस नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा समेत असन्तुष्टि व्यक्त गरे । कतिपय कांग्रेसजनले नै आफ्नो पार्टी अबको निर्वाचनमा कमजोर हुने चिन्तासमेत व्यक्त गरे ।

उसो त २०७९ सालको चुनावमा पनि डम्बर कांग्रेससहित धेरैवटा पार्टीको गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो । तर एमाले उम्मेदवार सुवास नेम्वाङले सबै दललाई हराइदिनुभयो । खड्का अहिले एक्लै चुनावी मैदानमा हुनुहुन्छ । २०७९ सालको मत विश्लेषण गर्दा अहिलेका एमाले उम्मेदवार सुहाङ नेम्वाङभन्दा कांग्रेसका डम्बर खड्का करिब ११ हजार मतले पछाडि हुनुहुन्छ । यो ११ हजार मत क्रस गर्ने सम्भावना नभएपछि खड्का निरास हुनुभएको हो । खड्का २०७४ सालको निर्वाचनमा पनि क्षेत्र २ को प्रदेश क्षेत्र ‘क’बाट एमालेका राम रानासँग हार्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित