७ श्रावण २०८३, बिहिबार

जस्तोसुकै स्वास्थ्य चुनौतीको सामना गर्न सक्नेगरी पूर्वाधार विकास गर्नुपर्छ : प्रधानमन्त्री

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै चुनौतीको सामना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ ।’

दाहालले प्रतिष्ठानको सेवालाई गुणस्तरीय बनाउन सरकारले थप ध्यान दिने उल्लेख गर्नुभएको छ । ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।’ दाहालले भन्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य उपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको धारणा राख्नुभयो ।

सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।’

दाहालले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको समेत बताउनुभएको छ । ‘सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।’ प्रधानमन्त्री दाहालको भनाइ छ ।

नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको दाहालले दाबी गर्नुभयो ।