सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बझाङमा एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी, माओवादी र एस मत सुरक्षित गर्ने रणनीतिमा

दैनिक नेपाल २०८१ वैशाख १२ गते ८:२२

–कृष्ण ओली, बझाङ, १२ वैशाख । बझाङ प्रदेश निर्वाचन क्षेत्र १ मा हुने उपनिर्वाचनको मौन अवधी सुरु हुन २ दिनमात्रै बाँकी रहँदा हारजितको अड्कलबाजी सुरु भएको छ । नेताहरु चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिमा व्यस्त भइरहँदा आम नागरिकबीच हारजितको अड्कलबाजी हुन थालेको देखिन्छ ।

घरदैलो, आमसभा तथा अन्य चुनावी प्रचारका खुला कार्यक्रम कमहुँदै गएका छन् भने आन्तरिक भेटघाट तथा मतदाता प्रभावमा राख्ने रणनीतिसहित दलका नेताहरु सक्रिय देखिन्छ । तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १२ दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उम्मेदवारी दिएका मध्ये एमाले दमनबहादुर भण्डारी र कांग्रेसका अभिषेकबहादुर सिंह मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह पनि प्रतिस्पर्धामा नदेखिनुभएका होइन्, तर उहाँहरु बीच पहिलो भएर जित्ने भन्दा पनि तेस्रो को हुने ? भन्नेमा प्रतिस्पर्धा चलेको देखिन्छ । यहाँ माओवादी र समाजवादीले आफ्नो मत सुरक्षित गर्ने रणनीति मात्रै बनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का पनि तीव्र चुनावी प्रचार प्रसारमा देखिनुभएको छ । जसपा नेपालबाट रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्कापनि उम्मेदवार हुनुहुन्छ ।

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरलाई चार मत कटाउन पनि सकस हुने देखिन्छ । नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट, नेपाली जनता दलबाट अशोक सुनारको अवस्था पनि अन्य साना दलहरू भन्दा फरक देखिँदैन । यी मध्ये केहीको धरौटी समेत जफत हुन सक्ने बताइन्छ भने केहीले आफ्नो मतसमेत आफ्ना लागि हाल्न नपाउने अवस्थामा छन् । बझाङमा अन्य जति दलहरुले उम्मेदवार बनाएपनि एमाले र कांग्रेस नै प्रतिस्पर्धी दल हुन् ।

२०४८ साल देखि नै यी दुई दल बीच चुनावी प्रतिस्पर्धा हुने गरेको छ । एमालेबाट निर्वाचन लड्दै गर्नुभएका दमन भण्डारी बझाङ पार्टी जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँसँग प्रतिस्पर्धामा उत्रिएका कांग्रेसका अभिषेक सिंह कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हनुहुन्छ ।

अभिषेक सवारी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका छोरा हुनुहुन्छ । सिंह २०७९ को वडा अध्यक्षको उम्मेदवार बनेर पराजित बन्नुभएको थियो । गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको निर्वाचन क्षेत्रमा उहाँकै छोरा अभिषेक सिंहलाई कांग्रेसले अन्तिम कसरतपछि उम्मेदवार बनाएको हो । एमालेका भण्डारीले पनि पार्टीको आन्तरिक प्रतिस्पर्धामा पहिलो भएर टिकट पाउनुभएको हो ।

जयपृथ्वी नगरपालिका–५ मा स्वतन्त्र उम्मेदवार रहेका प्रेमबहादुर थापासँग सिंह ७० मतले पराजित भएका थिए । नेकपा (एकीकृत समाजवादी पार्टी)बाट विद्रोह गरेर स्वतन्त्र लडेका थापा २७१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार राकेशबहादुर सिंहले २१५ पाउनुभएको थियो भने अभिषेक २०१ मत ल्याउँदै तेस्रो हुनुभएको थियो । तर हालको चुनावी प्रतिस्पर्धामा भने एमाले र कांग्रेसका उम्मेदवार नै जित्ने सहज अनुमान लगाउने सक्ने चुनावी दृश्य देखिएको छ । यहाँ एमाले र कांग्रेस मध्ये कस्ले चुनाव जित्ने भनी प्रतिस्पर्धा चलिरहँदा माओवादी र समाजवादीले भने आफूले विगतमा पाएको मत मात्रै सुरक्षित गर्न सक्दा पनि उपलब्धी हुने गरी अगाडि बढेको देखिन्छ ।

२०५६ को आमनिर्वाचनसम्म कांग्रेसको दबदबा रहेको बझाङमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको देखिन्छ । २०७९ मा प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तत्कालीन गठबन्धनसँग हार व्यहोरेको एमालेले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएको थियो ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका सिंह १७ हजार १ सय १२ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत पाउनुभएको थियो । राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाउनुभएको थियो ।

२०४८ को आमनिर्वाचनमा बझाङमा २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित हुनुभएको थियो । सिंह अहिले कांग्रेसमा हुनुहुन्छ ।

२०५६ को आमनिर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो । २०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो । २०७२ पछि एउटा प्रतिनिधि सभा र दुई प्रदेश सभा क्षेत्र तोकियो । त्यसपछि २०७४ मा भएको निर्वाचनमा प्रतिनिधि सभामा एमाले निर्वाचित भयो भने प्रदेश सभा– १ मा एमाले र २ मा माओवादी केन्द्रले जित्यो ।

एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएको कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेश सभा गरी ३ वटै सिटमा हार व्यहोरेको थियो । २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभामा एमाले निल भयो । गठबन्धनका दलहरुले चुनाव जिते पनि प्रदेश सभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम प्रतिस्पर्धीमा कांग्रेस छ ।

केन्द्रदेखि प्रदेशसम्म एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनको सरकार हुँदा बझाङमा भने यी दुबै पार्टी आमनेसामने छन् । समाजवादी र माओवादीमा को तेस्रो हुने प्रतिस्पर्धा बाहेक जितको सम्भावना देखिदैन् ।

समानुपातिक मत हेर्दा एमाले देखिए पनि समाजवादी र माओवादी दुबै उम्मेदवारले एमाले लिगेसीका मतहरु नै काट्ने देखिन्छ । एमाले र कांग्रेस मध्ये कस्ले जित्ने भन्नेमा पूर्वाअनुमान सहज छैन् । समाजवादी र माओवादीले मतदाता संरक्षण गर्ने, आफ्नो आकार थाहा पाउने बाहेक एमाले कसरी हराउने भन्ने आरिसले समेत उम्मेदवारी दिएको आरोप समेत सर्वसाधारणको छ । नजितेपनि मन नपर्नेलाई हराउने र कांग्रेस एमालेपछि को हुने भन्नेमा कडा प्रतिस्पर्धा बझाङ उपनिर्वाचनमा देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित