शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

उपनिर्वाचन- रास्वपालाई सहकारीको पिछा, मत जोगाउन व्यस्त एमाले-कांग्रेस

दैनिक नेपाल २०८१ वैशाख ११ गते १३:५७

काठमाडौं, ११ बैशाख । इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्धा भन्दा पनि केन्द्रीय मुद्धाले प्राथमिकता पाएपछि उम्मेदवारहरुको चिन्ता बढेको छ ।

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।

एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । त्यस्तै पहिचानको मुद्धालाई स्थापित गर्न उम्मेदवार बनेका थेगिमलाई सत्ता साझेदारी दल जसपासहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।

इलाममा एमाले र कांग्रेस आफ्नो विरासतलाई कायम राख्न आफ्नै मतदातालाई फकाउन मै व्यस्त देखिएका छन् । एमाले सुबासचन्द्र नेम्वाङकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेर युवा र सुबास नेम्वाङप्रतिको सहानुभूति मत दुवैलाई आफ्नो पक्षमा पारेर जित हासिल गर्ने रणनीतिका साथ हिडिरहेको छ । तर एमाले रास्वपा र पहिचानवादीले आफ्नो भोट काट्ने डरबाट मुक्त भने छैन । यस अघि पनि ११४ मात्र मतले जितेको एमालेलाई यो सिट जोगाउन ठुलो चुनौती देखिएको छ ।

अर्कोतर्फ कांग्रेस भने बाहिरका मतदातालाई आकर्षित गर्ने भन्दा पनि आफ्नै मत जोगाउने रणनीतिमा रहेको देखिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा इलाम-२ को उपनिर्वाचनमा स्थानीय असन्तुष्ट कार्यकर्तालाई फकाउने र मत बाहिर जान नदिने काममा व्यस्त देखिएका छन् । कांग्रेसमा खड्कालाई दोहोराएर टिकट दिने विषयमै केन्द्रसम्म नै विवाद भएको थियो । अब निर्वाचनमा कांग्रेसले आफ्नै नेता कार्यकर्तालाई एक ठाउमा राख्ने चुनौतिको सामना गरिरहेको छ । बलियो एमाले, लहरसहित अगाडी बढेको रास्वपा तथा पहिचानवादीको आक्रमकताका बीचमा आफ्नो भोट जोगाउने लडाईमा कांग्रेस देखिएको छ ।

त्यस्तै पुराना दल भन्दा फरक रहेको दाबी गर्दै अगाडी बढिरहेको रास्वपाले इलाम उपनिर्वाचनमा भने काउन्टर अट्याक पाइरहेको विश्लेषण गरिएको छ । अहिले सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणले इलाममा रास्वपालाई अस्वाभाविक धक्का दिइरहेको महसुस स्वयं रास्वपाका कार्यकर्ताहरुले गरिरहेको देखिएको छ । मतदाताले सिधै सहकारी ठगिको विषय उम्मेदवार र प्रचार गर्न पुगेका केन्द्रीय नेताहरुसँग उठाइरहेका छन् । यसका साथै मतदाताले फरक भन्ने अनि उनै पुराना नेतासँग कुम जोडेर हिड्ने भन्दै रास्वपाको सरकारको सहभागितालाई समेत प्रश्न गरेका छन् ।

त्यस्तै इलामका मतदाताले रास्वपाको उम्मेदवार छनौटलाई समेत प्रश्न उठाएका छन् । माओवादी पृष्ठभूमिका पत्रकार रहेका मिलन लिम्बु चुनाव अघि मात्र पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । रास्वपाले मिलनलाई उम्मेदवार बनाएपछि उहाँलाई अहिले पनि घन्टीबाहकको रुपमा स्वीकार गर्न हिचकिचाएको देखिएको छ ।

त्यसैगरी इलामको उपनिर्वाचन पहिचानवादीका लागि अग्निपरीक्षा हुने देखिएको छ । थेगिमले यस निर्वाचनमा चुनाव जित्ने कुरा त अहिले नै अनुमान गर्न सकिन्न तर उहाँले राम्रो मत ल्याउने संकेत समेत देखिएको छ । उहाँको पक्षमा मतदाताले देखाउने विश्वासले नै पहिचानवादीहरुको अन्दोलनको भविष्यको बाटो तय हुने हुनाले उनीहरु मतदाताको कसीमा खरो उत्रिने प्रयासमा रहेका छन् । यस अर्थमा यो निर्वाचन उहाँहरुको लागि ठुलो अग्निपरिक्षा भएको छ ।

इलाममा स्थानीय भन्दा केन्द्रीय मुद्धा नै हावी भएपछि एमाले- कांग्रेसले सहजता महसुस गरेपनि यसको ठुलो असर अहिले रास्वपालाई परेको देखिएको छ । तर उम्मेदवारहरु शहर केन्द्रित मात्र हुनुले मतदाताको समस्या र गुनासो पहिचान गर्न नसकेको समेत विषय आएको छ ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । नेम्वाङसँग कांग्रेसका खड्का एक सय १४ मतको झिनो अन्तरले पराजित हुनुभएको थियो । खड्काले २९ हजार नौ सय मत प्राप्त गर्नुभएको थियो ।

यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा हुनुहुन्छ। त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा हुनुहुन्छ ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका ९१० वडा बाहेक०, देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

उम्मेदवारहरुले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित