शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

डीडी न्यूजको लोगो परिवर्तन भएपछि…

दैनिक नेपाल २०८१ वैशाख ११ गते १०:१३

काठमाडौं, ११ वैशाख । भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल डीडी न्यूजको लोगोको रंग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ । यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अंग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ । यो रंग भारतीय जनता पार्टी (बिजेपी)को झण्डामा पनि प्रयोग भएकाले विपक्षीले भने विरोध गरेका छन् ।

लोकसभा चुनावमा दूरदर्शनको लोगोको रंग परिवर्तनको विपक्षी दलहरूले कडा आलोचना गरेका छन् । राज्यसभा सदस्य तथा पूर्व प्रसार भारती प्रमुख जवाहर सरकारले भन्नुभएको छ, ‘यो प्रसार भारती होइन, यो प्रचार भारती हो ।’ तर, प्रसार भारतीका वर्तमान प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदीले यी आरोपको खण्डन गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘लोगोमा चम्किलो रंगको प्रयोग भनेको व्यापारिक रणनीति मात्र हो, यसको राजनीतिसँग कुनै सरोकार छैन् ।’

गत वर्ष जनवरीमा ‘दूरदर्शन पोथिगाई’ टेलिभिजन च्यानलको नाम बदलेर ‘डीडी तमिल’ राखिएको थियो । त्यतिबेला यो समाचारलाई लिएर निकै विवाद भएको थियो । तर, तमिलको लोगो पनि अहिलेको डीडी न्युजकै जस्तो रंगमा परिवर्तन गरिएको थियो । यस महिनाको सुरुमा केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दूरदर्शनमा फिल्म ‘द केरला स्टोरी’ प्रसारणको कडा विरोध गर्नुभएको थियो । तर, यसका बाबजुद पनि फिल्म ५ अप्रिल राति ८ बजे दूरदर्शनमा प्रसारण भएको थियो । यो मामिला पनि टुंगिएको थिएन जब प्रसार भारती फेरि एकपटक डीडी न्यूजको लोगोको रंग परिवर्तनलाई लिएर विवादमा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित