शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ : केपी ओली

दैनिक नेपाल २०८१ वैशाख १० गते २१:३०

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताउनुभउको छ ।

सोमबार नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँलेसाढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा चल्ने भएकाले एमाले सतर्क रहनुपर्ने र एमाले एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको हो ।

‘यत्रो पार्टीमा पाँच लाख भन्दा बढि सदस्य छन् । कोही एक जनाले कहींकतै वोल्दाखेरी अलिकति जिब्रो चिप्लियो भने समाचार बन्छ । हंगामा चल्छ । बिभिन्न पक्षमा आशा पलाउन थाल्छ, यसमा सतर्क हुने कुरा मात्र हो,’ उहाँले भन्नुभयो, ‘नेकपा एमाले आज एकताबद्ध, एक ढिक्का छ र एकताबद्ध रहनेछ । एमालेले आफ्नो काँधमा अभिभारा रहेको बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउन हामीले गर्छौ भनेका छैनौं । अरु साथीहरुलाई पनि साथ लिएर गर्ने भनेका हौं । तर यसको अगुवाइ एमालेले गर्नुपर्छ । हामीले पदको होइन विचारको अगुवाइ गर्दै आएका छौं । सरकारमा होस कि नहोस् ।’

अध्इक्ष ओलीले कम्युनिस्ट जन्मिएपछि राणा शासन अन्त्य भएको र देशमा उथलपुथल भएर जनताले जित्दै आएको दावी गर्नुभयो । नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘कम्युनिस्टको जन्म भयो कि यहाँ राणा शासन विरोधी आन्दोलनदेखि राणा शासन फ्याँकिनेदेखि अनेक खालका उथलपुथल भइरहेका छन् । तर अन्तिममा जनताले जित्दै आएका छन् । गाउँतिर भन्छन् नि मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको छ । नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित