
ललितपुर, १० वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘जोखिमहरू छन् । जहिले पनि रहन्छन् । तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो । हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ । जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ ।’
कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रद्धाञ्जलि र सम्मान व्यक्त गर्दछु । उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो । उहाँ विचारमा दृढ हुनुहुन्थ्यो । सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो । पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो । राम्रो अभिभावकको भूमिका निभाउनुभयो ।’
प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन । समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ । स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ ।’
प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताउनुभयो ।








प्रतिक्रिया