२४ असार २०८३, बुधबार

नेपालका कम्युनिष्ट र वामपन्थी शक्तिबीच एकताका लागि प्रधानमन्त्रीको अपिल

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री एवं  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणका लागि अपिल गर्नुभएको छ ।

सोमबार समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको आवश्यकता रहेको बताउनुभएको हो ।

‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिष्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउनेछ ।’ दाहालले भन्नुभएको छ, ‘तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न संकल्प गर्ने दिन पनि हो ।’

दाहालले नेपालको कम्युनिष्ट आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको भन्दै यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको दाबी गर्नुभएको छ । उहाँले कम्युनिष्ट एवं वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु सबैको जिम्मेवारी हुने बताउनुभएको छ ।