
काठमाडौं, १० वैशाख । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गर्नुभएको छ ।
इन्टरपोलको महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालको प्रमुखकारुपमा सम्मेलनमा सहभागी हुन लाग्नुभएको हो ।
महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुभकामनासहित विदाई गर्नुभयो ।
हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ट्रान्सनेशनल संगठित अपराधका विषयमा छलफल हुने जनाइएको छ । सम्मेलनमा इन्टरपोलका सबै सदस्य राष्ट्रहरु अर्थात १९६ वटै देशका एनसीबीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
महानिरीक्षक कुँवरले भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरुसँग द्विपक्षीय बैठक समेत राखिएको छ ।
नेपाली मितिअनुसार वैशाख ११ देखि १३ गतेसम्म फ्रान्सको लियोनमा हुने सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंह समेत सहभागी हुनुहुनेछ ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुनेछ ।








प्रतिक्रिया