शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

एल क्लासिकोमा रियल विजयी, बार्सिलोना पराजित

दैनिक नेपाल २०८१ वैशाख १० गते ८:०१

काठमाडौं, १० वैशाख । सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा जुड बेलिङघमले इञ्ज्युरी समयमा गरेको गोल निर्णायक बन्दा रियलले बार्सिलोनालाई ३–२ ले हरायो ।

प्रतिष्पर्धात्मक खेलको छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले राफिन्हाको कर्नर सटलाई हेडरमार्फत गोलमा परिणत गरे । तर, १८औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । लुकास भाज्क्वेजलाई डिबक्सभित्र फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै फेरी बार्सिलोनालाई अग्रता दिलाए । तर, त्यो अग्रता चार मिनेटभन्दा बढी टिक्न सकेन । ७३औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दा खेल २–२ गोलको बराबरीमा पुग्यो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै रियलले ३२ खेलाबाट ८१ अंक जोड्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । समान खेलबाट बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित