शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

महिन्द्र राय यादवको आरोप– बाबुराम भट्टराईले जनतालाई धोका दिए

दैनिक नेपाल २०८१ वैशाख ८ गते २०:४१

काठमाडौं, ८ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकतामा भाँजो हालेर नेपाली जनतालाई धोका दिने काम गरेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यादवसहितको समूह मोआवदी केन्द्रसँग पार्टी एकताका लागि तयार भइसकेको बेला भट्टराईले एकीकरणको विपक्षमा अभिव्यक्ति दिनुभएको थियो ।

भट्टराईको नजिकका तीन जनाले उहाँको साथ छोड्नु नै नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको दाबी यादवले गर्नुभयो । ‘मैले डा. साहेबलाई भनेको थिएँ डा. साहेब तपाई चुनाव लड्नुहोस् । म चुनाव लड्छु दुई वटा सिट हुन्छ । जितिन्छ र पार्टीलाई बनाउन सकिन्छ । उहाँले मान्नुभएन । उहाँको भनाइ थियो– अब हामीले पार्टी चलाउन सक्दैनौं । पार्टी चल्नै सक्दैन ।’ यादवले भन्नुभयो, ‘हामीले विभिन्न अवरोध पार गर्दै यहाँसम्म आयौँ, अब यो देशको राष्ट्रवादी शक्तिहरुलाई जोड्नुपर्छ । देशभक्त पार्टीसँग एकता गर्ने आधारमा जाऔँ । उहाँले जे जे भनेपनि मलाई आलोचना गर्नु छैन् ।’

उहाँले हालैको संसदीय निर्वाचनमा पनि भट्टराईले सल्लाह नमानेको दुखेसो गर्नुभयो । ‘एउट कुरा भन्छु, गंगाजीले ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो ? दुर्गा भट्टराई, विश्वदीप पाण्डे उहाँको परिवारिक सदस्य तीन जनाले उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको छ ।’ उहाँले भन्नुभयो, ‘बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ । मैले भने तपाई चुनाव लड्नुहोस्, किन लड्नुभएन ?’

संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति माओवादी केन्द्र नै रहेको यादवले बताउनुभयो । १० प्रदेशमा सहमतिको अधुरो काम पूरा गर्न माओवादीसँग एकता आवश्यक रहेको भनाइ उहाँले राख्नुभयो ।

‘नेपाल समाजवादी पार्टीको सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा माओवादी नै छ ।’ उहाँले भन्नुभयो । माओवादी आन्दोलनको बलमा नै मुलुकमा गणतन्त्र सम्भव भएको उहाँले बताउनुभयो । मुलुकलाई १० प्रदेश आवश्यक रहेको जिकिर गर्दै उहाँले त्यो पूरा गराउन अघि बढ्नका लागि पनि पार्टी एकता आवश्यक रहेको उहाँको जोड थियो ।

प्रतिक्रिया
सम्बन्धित