३० असार २०८३, मंगलबार

अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमण सकाएर स्वदेश फर्किनुभएको छ ।

वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किनुभएको हो । चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

मन्त्री पुन विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाई लेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनुभएको थियो ।

मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेटघाट गर्नुभयो ।

सम्बोधन तथा भेटघाटहरूमा मन्त्री पुनले आगामी १७ र १६ वैशाखमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो ।

आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंक समूहअन्तर्गतको सहुलियत दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आइडीए)–२१ बैठक तयारीबारे पनि अवगत गराउनुभयो ।

मन्त्री पुनले विकास साझेदारहरूलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गर्नुभयो ।

मन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरूसँगको वार्तामा संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्ध जलाशययुक्त आयोजनाको वित्तीय ढाँचाबारे महत्वपूर्ण सहमति भएको छ । आगामी जुनमा विश्व बैंकले आयोजनाका लागि वित्तीय व्यवस्थापन टुंग्याउने तयारी अघि बढाउने भएको छ ।

त्यस क्रममा विश्व बैंकसहित विकास साझेदार संस्थाका प्रतिनिधिहरूले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको भन्दै लगानी सम्मेलनमा उच्चस्तरको सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।