शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

जुरेली रंगशाला निर्माणका लागि डेढ करोड संकलन

दैनिक नेपाल २०८१ वैशाख ८ गते १७:१३

हेटौंडा, ८ वैशाख । पूर्वी मकवानपुरको बकैयामा नगद र जिन्सीसहित रंगशाला निर्माणका लागि डेढ करोड रुपैयाँ संकलन भएको छ ।

जुरेली रंगशाला निर्माण लागि बकैया–४, मा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगी दाता र भक्तजनबाट एक करोड ६७ लाख ३९ हजार ३३० रुपैयाँ संकलन भएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले सामाजिक कार्यका लागि महायज्ञ लगाइएकोमा प्रशंसा व्यक्त गर्दै समाजमा विकास र रूपान्तरणका लागि सबै एक जुट हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले बकैया खेलका लागि उर्वर क्षेत्र भएकाले जुरेली रंगशालाले पूर्णता पाए यहाँको अझै विकास हुनेमा विश्वास व्यक्त गर्दै रंगशालाका लागि आवश्यक बजेट विनियोजन र आवश्यक सहयोगमा सधै अग्रभागमा रहेर सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

करिब तीन बिगाहा क्षेत्रफलमा रहेको यस क्षेत्रमा कबडहल, बास्केटबल, टेबल टेनिस, भलिबल, फुटबल मैदान लगायतका खेल खेलाउने गरी रंगशाला निर्माण गर्न लागिएको समितिका अध्यक्ष बिमल नेपालले जानकारी दिनुभयो ।

बकैया गाउँपालिका भित्रको खेलमैदान मध्येको जुरेली खेलमैदान उत्कृष्ट भएकाले रंगशालाका रुपमा विकास गर्नका लागि जुरेली खेलमैदानका लागि स्थानीयसँग १५ कठ्ठा क्षेत्रफल जग्गा खरिद गरेकाले त्यसको भुक्तानी गर्न महायज्ञ लगाइएको थियो । ‘बजेट सुनिश्चितताका लागि हामीले महायज्ञ लगाएका हौं, सबैले सहयोग गर्नुभयो, सबैलाई धन्यवाद छ, अब अन्य काम धमाधम गर्नेछौँ ।’ उहाँले भन्नुभयो ।

३० चैतमा उद्घाटन गरिएको महायज्ञ वैशाख ७ गते शुक्रबार राति समापन गरिएको थियो । महायज्ञमा प्रखर पण्डित कपिलदेव भट्टले कथावाचन गर्नुभएको थियो भने दैनिक सयौँको संख्यामा भक्तजनहरू कथा श्रवण र रंगशाला निर्माणका लागि जिल्ला समन्वय समिति, गाउँपालिका पालिका, वडातह र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित