शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

यस्तो छ समृद्ध इलामका लागि सुहाङको ‘सुहाङ संकल्प’

दैनिक नेपाल २०८१ वैशाख ८ गते १४:४१

इलाम, ८ वैशाख । यही वैशाख १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले)का युवा उम्मेदवार सुहाङ नेम्वाङले ‘सुहाङ संकल्प’ सार्वजनिक गर्नुभएको छ ।

उहाँले मुख्य १० विषयमा केन्द्रित रहेर ‘समृद्ध इलाम : सुखी इलामेली’का लागि ‘सुहाङ संकल्प’ ल्याउनुभएको हो । नेम्वाङले सुशासन, कृषि, पर्यटन, स्वास्थ्य, सडक, शिक्षा, उद्योग, खेलकुद, खानेपानी, सूचना–सञ्चारलगायत विषयका एजेन्डा सार्वजनिक गर्नुभएको हो ।

सुशासनअन्तर्गत उहाँले ‘हाम्रो दृढ र स्पष्ट विचार : हुन दिन्नौँ इलामका कुनैपनि आयोजनामा भ्रष्टाचार’, कृषितर्फ सुखी इलामेलीको आधार : ८ ‘अ’को अनुसन्धान, आधुनिकीकरण, ब्रान्डिङ र बजारीकरण’ र पर्यटनतर्फ ‘विदेशी पर्यटक आवागमनको आधार : एकीकृत पर्यटन प्याकेज निर्माण र प्रचार’ गर्ने संकल्प गर्नुभएको छ ।

उम्मेदवार नेम्वाङले स्वास्थ्यतर्फ ‘हरेक स्थानीय तहमा चिकित्सकसहितको अस्पताल : मर्ने छैनन् कोही इलामेली अकाल’, सडकतर्फ ‘हरेक वडादेखि पालिका केन्द्रसम्म पक्की सडक : बनाउनेछौँ सबै इलामेलीको दैनिकी सहज’ र शिक्षातर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि : गाउँ फर्किनेछन् हाम्रा छोराछोरी’ लाई एजेन्डाका रूपमा ल्याउनुभएको छ ।

यसैगरी, उद्योगतर्फ ‘इलामेलीको इलम : सहरका हरेक डिपार्टमेन्टल स्टोरमा मेड इन इलाम’, खेलकुदतर्फ ‘एक वडा एक खेलकुद मैदान, एक स्थानीय तह एक रंगशाला : खेलाडीको संरक्षण हाम्रो अभिभारा’, खानेपानीतर्फ ‘एक घर एक धारा : सफा खानेपानी सुविधा सुनिश्चितता हाम्रो अभिभारा र सञ्चार तथा सूचनातर्फ ‘हरेक घरमा इन्टरनेट सुविधा : हुने छैन देश–विदेशको सूचनामा द्विविधा’ सुहाङको चुनावी एजेन्डा छ ।

यी बाहेक उहाँले सहरमा संघर्ष गरिरहेका गाउँलेका छोराछोरीको आफू सधै साथी हुने, विदेशमा अलपत्र इलामेको उद्धार, किरात धार्मिकस्थल लारुबालाई राष्ट्रिय पहिचान दिनेदेखि इलामेका मुद्दा मामिलामा कानुनी सल्लाहसमेत दिने एजेन्डा मतदातासामु राख्नुभएको छ ।

एमाले उम्मेदवार नेम्वाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युष्टि पार्टी र नेपाल परिवार दल लगायतका दललेसमेत समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित