३ श्रावण २०८३, आइतबार

राजनीतिक लडाईंले रेशम–रञ्जिताको सम्बन्धमै दरार

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रहनुभएकी रेशमकी पत्नी रञ्जिता श्रेष्ठबीच सम्बन्धमै दरार देखिएको छ । पार्टीभित्र रेशम–रञ्जिताबीच बढेको खटपटको विषय अहिले सम्बन्धमै दरार रहेको देखिएको हो ।

रेशमले पत्नीसँग बढेको खटपटको यो विषय आफैले सार्वजनिक गर्नुभएको हो । रेशमले पत्नी रञ्जितासँगको विवाद सामाजिक सञ्जालमा फेसबुकमा लामो स्टाटस लेख्दै खुलाउनुभएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने राजनीतिक लडाईंले रेशम र रञ्जिताबीच विवाद सुरु भएको थियो । रेशम वर्तमान सरकारलाई समर्थन नगर्ने अडानमा हुनुहुन्छ भने रञ्जिता समर्थन गरेर पार्टीलाई अघि बढाउनुपर्ने अडानमा हुनुहुन्छ ।

पार्टीकी अध्यक्ष रञ्जितालाई अरुले भड्काइरहेको रेशमको दाबी छ । ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौँ । तिमी सोझी र अन्जान छौँ तर, मुडी छौँ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।’ रेशमले फेसबुकमा लेख्नुभएको छ, ‘यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो ।’

‘यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनुहुन्न । संवादको सुरुवात गरे दुवैको मन हल्का होला । नबिर्सनु रञ्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुवैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।’ उहाँले भन्नुभएको छ ।

उहाँले अरूको कुरा नसनेर पार्टी हितमा काम गर्न आग्रह समेत गर्नुभएको छ । ‘सरल तरिकाले बुझ तिमी, मैले निर्वाचन आयोगको फैसला अदालत भन्दा गम्भीर र त्रुटिपूर्ण देखेपछी त्यसको प्रतिवाद मात्रै गरेको हुँ । सबका सामु अध्यक्ष स्विकारेको छुँ, तिम्रो मानमर्दन गरेको छैन । तिमिले यत्ति बुझ्नु रन्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुवै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो ।’ उहाँले भन्नुभएको छ, ‘तिमिलाई मेरो सुझाव छ रन्जु, अहिले केहिदिन ३ तत्वबाट टाढा रहनु, छोरी भन्नेसँग, भाउजू भन्नेसँग, भान्जी भन्नेसँग । यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ ।’

रेशमले रञ्जितालाई मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिन आग्रहसमेत गर्नुभएको छ ।

‘जसले तिमिलाई मन्त्री ज्यु भन्छ त्यो चाहिँ तिम्रो असलि कार्यकर्ता हो । अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उदेश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौँ, छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔँ । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।’ रेशमले भन्नुभएको छ ।