शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एमाले उम्मेदवार सुहाङको घरदैलो अभियान तीव्र, आजदेखि इलाम नगरपालिकामा

दैनिक नेपाल २०८१ वैशाख ८ गते १२:३६

इलाम, ८ वैशाख । यही वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले)का उम्मेदवार ३३ वर्षे सुहाङ नेम्वाङ आज (शनिबार)देखि घरदैलो कार्यक्रममा इलाम नगरपालिका पुग्नुभएको छ ।

उहाँले आज इलाम नगरपालिका–११, सोयाकबाट नगरभित्र घरदैलो अभियान थाल्नुभएको छ । सुहाङको घरदैलो अभियानमा एमालेसहित नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताकार्यकर्ता सहभागी छन् ।

उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको घरदैलोमा मतदाताले साथ दिएको एमालेले जनाएको छ ।

आज सुहाङको टोली इलाम नगरका वडा ९, ११ र १२ का विभिन्न टोलको घरदैलोमा रहनेछ ।

आज इलाम नगरपालिका–११, बेलासे हुँदै श्रीमान कटवालको घरछेउ, निर्फुक, नवमीबजार, निन्दाखु हुँदै साङरुम्बामा घरदैलो अभियान सञ्चालन हुने बताइएको छ ।

यसैगरी, वडा १२ को मसार भण्डारी गाउँ, एक नम्बर गैरीगाउँ, तीन नम्बर साङरुम्बा मावि, लामागाउँ, रत्नलक्ष्मी स्कुल र पाँच नम्बर ओख्रागाउँमा घरदैलो हुनेछ ।  त्यसपछि वडा ९ का साजबोटे, खड्गीगाउँ, कृषि क्याम्पस क्षेत्र, यातायात कार्यालय क्षेत्र, भाङटार, भञ्ज्याङ चोक हुँदै खाकी गाउँमा कार्यक्रम रहेको एमाले इलाम नगर कमिटी सचिव ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाका १२ वटा वडामध्ये वडा १० बाहेक सबै वडा क्षेत्र नम्बर २ मा पर्छन् । यो पालिका क्षेत्र नम्बर २ मा सबैभन्दा बढी मतदाता रहेको पालिका हो । इलाम नगरमा ३४ हजार ४५ मतदाता छन् । क्षेत्र २ मा पर्ने पाँच पालिकाका ४२ वटा वडामा कुल मतदाता संख्या एक लाख १५ हजार आठ सय ८९ छ ।

यसअघि सुहाङको टोलीले चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम र देउमाईको घरदैलो सम्पन्न गरिसकेको छ ।

यसअघिका घरदैलोमा हजारौं मतदाताले सुहाङलाई रुचाएका छन् । युवादेखि ज्येष्ठ नागरिकसम्मले सुहाङलाई मतदान गर्ने विश्वास दिलाएका छन् । गठबन्धनका मात्र नभई अन्य दलका मतदाताले समेत सुहाङ नै अबको सक्षम र योग्य युवा उम्मेदवार भएको भन्दै मतदान गर्ने विश्वास दिलाएका छन् ।

आउँदो निर्वाचनका लागि उम्मेदवार बनेकामध्ये सबैभन्दा योग्य उम्मेदवार नै सुहाङ भएको भन्दै उहाँको पक्षमा मतदाता खुलेर चुनावी अभियानमा सामेल भइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित