शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

हामीलाई कसैले कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

दैनिक नेपाल २०८१ वैशाख ८ गते १२:०४

रौतहट, ७ वैशाख । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्‍यो भने देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिनुभएको छ ।

आफू देशका ठूला हस्ती राजा विरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमानदेखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिनुभएको हो ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले आफुहरुको आफनै स्वाभिमान, पहिचान, मूल्यमान्याता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिनुभयो।

वर्तमान चार दलिय सत्ता गठबन्धनलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘हामी कसैको दास होइनौँ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौँ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसलाई ठूलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थप्नुभयो, ‘हाम्रो आफनै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझयो भने ठिक छ नत्र सबै उलटिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उहाँले भन्नुभयो, ‘त्यहाँ आफना पार्टीका चार जना प्रदेश सांसद छन् र ति चारै जना सरकार निर्माणका लागि निर्णायक छन्, हाम्रा प्रदेश सांसदहरु जता जान्छन उतै सरकार बन्छ, अनि सरकार छाडयो भने ढल्छ ।’ रौतहटमा विगतमा आफूले शिलान्यास गरेका सबै योजनाहरुको काम चाडै द्रुत गतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाउनुभएको छ ।

आफूप्रधानमन्त्री भएको बेला रौतहटमा ठूलाठूला विकास निर्माणका कामहरु गरेको चर्चा गर्दै नेता नेपालले आफूले शिलान्यास गरी अधुरो रहेका बडहर्वा पुल, टिकुलियाघाटको पुलदेखि लिएर अलपत्र अवस्थामा रहेको सबै योजनाका कामहरु चाडै अगाडि बढाउने प्रक्रियामा लागि परेको बताउनुभयो । ४२ किलोमिटरको गौर–चन्द्रनिगाहपुर सडक खण्डलाई ४ लेनको बनाउने योजना आफूले नै ल्याएको र अहिले उक्त सडकलाई ४ लेन बनाउने काम द्रुत गतिमा अगाडि बढेको उहाँले बताउनुभयो ।

चपुर–गौर सडकलाई चारलेन बनाउन ३ अर्बको ठेक्का लागिसकेको बताउँदै नेता नेपालले अबको केही वर्ष भित्र मै चपुर–गौर सडक ४ लेनको बाटो हुने बताउनुभयो । त्यस्तै, हुलाकी राजमार्गसँग जोडिएको बडहर्वाघाटको बागमती नदिको पुल निर्माण गर्न अति आवश्यक रहेकोले अलपत्र अवस्थामा रहेको पुल चाँडै निर्माण गर्नका लागि आफू कुनै कसर बाँकी नराखेको उहाँले बताउनुभयो ।

गौर नगरपालिकाका मेयर शम्भु साहको अथक प्रयास र सहयोगमा वडा नं २ महादेवपट्टि स्थित लाल बकैया नदीमा करोडौंको लागतमा निर्माण भएको झोलुङ्गे पुलको शुक्रबार अध्यक्ष नेपालले उद्घाटन गनुभएको हो । नेता नेपालले उद्घाटन गरेसँगै मधेश प्रदेशकै सबभन्दा दोस्रो ठूलो पुलको रुपमा रहेको झोलुङ्गे पुल शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

यो पुलबाट गौर, इशनाथलगायत पालिकाका हजारौ व्यक्तिहरु लाभान्वित हुने भएका छन् ।  उद्घाटन कार्यक्रममा नेकपा एसका नेता एवं पूर्व मन्त्री डाक्टर वंशीधर मिश्रा, विकास समितिका सभापति कल्याणी खड्का, नेता रेवन्त झा, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, गौर नगर प्रमुख शम्भु साहलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित