शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

दैनिक नेपाल २०८१ वैशाख ८ गते ६:११

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।

बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने छन् ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने महासचिव पोखरेलले बताउनुभयो ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढीकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरिएको झुलाघाट-चिवाभञ्ज्याङ यात्राको समीक्षा हुने उहाँले बताउनुभयो ।

यसैगरी, आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिनुभएको छ ।

परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । बैठकमा केन्द्रीय निकायहरू क्रमशः केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन् ।

बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने छ ।

साथै, एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष (हिरक महोत्सव)का उपलक्ष्यमा यही वैशाख १० गते एक विशेष समारोहको आयोजना गरेको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

हिरक महोत्सवमा एक जना विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मान प्रदान गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित